Banijya News

धितोपत्र बजार सुधारका लागि सेबोनले माग्यो सरोकारवालासँग सुझाव

1
1.1K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम तयार गर्ने प्रक्रिया अघि बढाएको छ । यसै क्रममा बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र विकास र विस्तारका लागि सरोकारवालाहरूबाट सुझाव संकलन गर्ने घोषणा गरेको छ ।

बोर्डअन्तर्गतको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले सार्वजनिक सूचना जारी गर्दै पूँजी बजारलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित रचनात्मक तथा कार्यान्वयन योग्य सुझाव माग गरेको हो । सेबोनका अनुसार पछिल्लो समय बजार विस्तारसँगै देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न नीति निर्माणमा व्यापक सहभागिता आवश्यक ठानिएको छ ।

सूचनामा बजार विकास, संरचनात्मक सुधार, नियामकीय स्पष्टता, लगानीकर्ता संरक्षण, प्रविधिको प्रयोग तथा संस्थागत सुदृढीकरणका विषयमा विशेष जोड दिइएको छ । साथै, वस्तु विनिमय बजारलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक नीतिगत उपायबारे पनि सुझाव दिन आग्रह गरिएको छ ।

सेबोनले सरकारी निकाय, निजी क्षेत्र, लगानीकर्ता, विज्ञ तथा सम्बन्धित संघ–संस्थाहरूबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ। यसले पूँजी बजारलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास बोर्डको छ ।

बोर्डले सुझाव दिन इच्छुक व्यक्ति तथा संस्थाहरूलाई आउँदो जेठ १५ गतेभित्र आफ्नो धारणा पठाउन आह्वान गरेको छ । सुझावहरू बोर्डको आधिकारिक इमेल ठेगानामार्फत पठाउन सकिनेछ । समयसीमाभित्र प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषण गरी प्राथमिकताका आधारमा नीति निर्माणमा समेटिने जनाइएको छ ।

हाल नेपालमा धितोपत्र बजार क्रमशः विस्तार हुँदै गए पनि नीतिगत स्पष्टता, लगानीकर्ताको विश्वास, बजार स्थायित्व तथा पारदर्शितासम्बन्धी चुनौतीहरू अझै विद्यमान छन् । यस्ता समस्याहरू समाधान गर्न व्यापक परामर्शमार्फत नीति निर्माण गर्नु आवश्यक रहेको सरोकारवालाहरूको धारणा रहँदै आएको छ ।

सेबोनको यो पहलले पूँजी बजार सुधारका लागि साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, बजारमा दीर्घकालीन लगानी प्रवद्र्धन, जोखिम व्यवस्थापन तथा सुशासन कायम गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

1

Scroll to Top