सरकारले आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लागू गरेपछि देशभरका प्रमुख भन्सार नाकामा जाँचपास प्रक्रिया ठप्प हुँदा राजस्व सङ्कलनमा उल्लेख्य असर परेको छ। विशेषगरी वीरगञ्ज भन्सार कार्यालय लगायतका भन्सार कार्यालयमा आयातकर्ता तथा निर्यातकर्ताले जाँचपास प्रक्रियामा सहभागिता जनाउन छाडेपछि स्थिति जटिल बनेको हो।
भन्सार प्रशासनका अनुसार आयातकर्ताहरूले घोषणा फाराम भर्नेदेखि जाँचपाससम्मका प्रक्रियामा भाग नलिँदा दुई दिनदेखि अधिकांश तयारी वस्तुको जाँचपास रोकिएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार यसले दैनिक ५०–६० करोड रुपैयाँसम्म हुने राजस्व सङ्कलनमा ठूलो गिरावट आएको छ। हाल अत्यावश्यक वस्तु तथा कच्चा पदार्थबाट मात्र करिब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भइरहेको छ।
सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार १५ वैशाखदेखि स्वदेशी तथा आयातित सबै तयारी वस्तुमा एमआरपी लेबल अनिवार्य गर्ने निर्णय लागू गरेको थियो। सोही अनुसार भन्सार बिन्दुमै एमआरपी नभएका वस्तुको जाँचपास रोकिएको हो। देशका प्रमुख नाका—वीरगञ्ज, भैरहवा, विराटनगर, रसुवा, नेपालगञ्ज र काँकडभिट्टामा यस्तो व्यवस्था कडाइका साथ लागू गरिएको छ।
यसको प्रत्यक्ष असर भन्सार क्षेत्रमा देखिएको छ। हाल देशभर करिब एक हजारभन्दा बढी मालवाहक कन्टेनर भन्सारमै रोकिएका छन्, जसमा वीरगञ्जमा मात्रै करिब ६ सय कन्टेनर थन्किएका छन्। रसुवागढी नाकामा चिनियाँ लत्ताकपडा र जुत्ताचप्पल बोकेका करिब २० कन्टेनर अड्किएका छन् भने अन्य नाकामा पनि दर्जनौं कन्टेनर रोकिएका छन्।
व्यवसायीहरूले भने सरकारको निर्णयलाई अव्यावहारिक भन्दै विरोध जनाएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष हरिप्रसाद गौतमका अनुसार भन्सार बिन्दुमै लाखौं सामानमा एमआरपी टाँस्नु प्राविधिक रूपमा सम्भव छैन। “विदेशी कम्पनीले नेपालको सानो बजारका लागि छुट्टै लेबलिङ गरेर सामान पठाउँदैनन्,” उनले भने, “भन्सारमा कन्टेनर खोलेर प्रत्येक सामानमा स्टिकर टाँस्न सकिँदैन।”
त्यस्तै नेपाल समुद्रपार निकासी पैठारी संघ का महासचिव जयन्त अग्रवालले पूर्वाधार र स्पष्ट कार्यविधि विना नियम लागू गर्दा व्यवसायी त्रसित बनेको बताए। उनका अनुसार भन्सारमै सामान पुनः प्याकेजिङ गर्दा डेमरेज र अन्य शुल्क बढेर वस्तुको लागत महँगो हुने र त्यसको भार उपभोक्तामाथि पर्नेछ।
व्यवसायीहरूले एमआरपी कार्यान्वयनको विरोध नगरे पनि यसको कार्यान्वयन शैली व्यावहारिक हुनुपर्ने माग गरेका छन्। उनीहरूले भन्सार बिन्दुमा होइन, आयातकर्ताको गोदाम वा पहिलो बिक्री बिन्दुमा एमआरपी लेबलिङ गर्न दिनुपर्ने सुझाव दिएका छन्। साथै, सबै वस्तुमा अनिवार्य गर्नुको सट्टा दैनिक उपभोग्य वस्तुमा मात्र लागू गर्नुपर्ने धारणा पनि राखेका छन्।
सरकारी निकायबीच समन्वय अभाव रहेको आरोपसमेत व्यवसायीहरूले लगाएका छन्। अर्थ मन्त्रालय, वाणिज्य विभाग र भन्सार विभागबीच एउटै नीतिमा फरक–फरक व्याख्या हुँदा अन्योल सिर्जना भएको उनीहरूको भनाइ छ।
तर वाणिज्य विभाग भने आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ। विभागका सूचना अधिकारी नरहरि तिवारीका अनुसार उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य पारदर्शिता कायम गर्न एमआरपी अनिवार्य गरिएको हो। “राज्यको कानुनलाई चुनौती दिने छुट कसैलाई छैन,” उनले भने, “अब एमआरपीविना सामान बजारमा जान दिइँदैन।”
सरकारको कडाइ र व्यवसायीको विरोधबीच भन्सार गतिविधि ठप्प हुँदा राजस्व, आपूर्ति प्रणाली र बजार मूल्यमा दीर्घकालीन असर पर्ने संकेत देखिएको छ। समस्या समाधानका लागि तत्काल सरकार र निजी क्षेत्रबीच संवाद आवश्यक देखिएको छ।


