नेपालको औद्योगिक इतिहाससँग गहिरो रूपमा जोडिएको विराटनगर जुटमिल पुनः सञ्चालनको चर्चाले फेरि एकपटक जनचासो तानेको छ। नयाँ सरकार गठनसँगै रुग्ण उद्योगहरू पुनर्जीवित गर्ने सम्भावनाबारे राजनीतिक तहमा भइरहेको बहसले यस उद्योगसँग आश्रित पूर्व कर्मचारी, स्थानीय समुदाय र उद्योग क्षेत्रका सरोकारवालाहरूमा आशाको किरण देखिएको छ। तर, झण्डै एक दशकदेखि बन्द रहेको यो उद्योगको वास्तविक अवस्था हेर्दा पुनः सञ्चालनको बाटो सहज भने देखिँदैन।
वि.सं. १९९३ असार ३० गते तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर को पालामा स्थापित यो उद्योग नेपालकै पहिलो ठूलो औद्योगिक प्रतिष्ठान मानिन्छ। उद्योग स्थापनामा राधाकृष्ण चमरिया र रामलाल गोल्छा को प्रमुख भूमिका थियो। इतिहासमा यो उद्योग केवल उत्पादन केन्द्र मात्र नभई श्रमिक आन्दोलनको प्रतीकसमेत बनेको थियो। विशेषगरी वि.सं. २००३ सालको मजदुर आन्दोलनले नेपालको श्रम अधिकारको इतिहासमा महत्वपूर्ण मोड ल्याएको थियो।
एक समय यस्तो थियो, जब यस उद्योगले करिब ७ हजार कामदारलाई रोजगारी दिएको थियो र दैनिक ४० टनसम्म जुट उत्पादन गर्ने क्षमता राख्थ्यो। उत्पादन, रोजगारी र निर्यातका हिसाबले यो उद्योग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने आधारस्तम्भका रूपमा स्थापित थियो। तर समयसँगै व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप, प्रविधिगत पिछडापन र बजार प्रतिस्पर्धामा पछि पर्दै जाँदा यो उद्योग क्रमशः कमजोर हुँदै गयो र अन्ततः बन्द हुन पुग्यो।
आज मिल परिसरमा छिर्दा जीर्ण संरचना, खिया लागेका मेसिन र झाडीले ढाकिएका खुला क्षेत्रहरूले यसको दयनीय अवस्था उजागर गर्छन्। दुवै प्लान्टका मेसिनरी लामो समयदेखि प्रयोगमा नआएकाले अधिकांश उपकरण कवाडी सरह भइसकेका छन्। कतिपय महत्त्वपूर्ण पार्टपुर्जा चोरी भएका छन् भने बाँकी रहेका उपकरणहरू पनि प्रविधिगत रूपमा निकै पुराना भइसकेका छन्।
मेसिन र पूर्वाधारको समस्या मात्र होइन, दक्ष जनशक्तिको अभाव पनि ठूलो चुनौतीका रूपमा देखा परेको छ। उद्योग बन्द भएपछि यहाँ कार्यरत अधिकांश अनुभवी कामदारहरू अन्य पेशामा लागिसकेका छन् वा वैदेशिक रोजगारीमा गएका छन्। नयाँ पुस्तामा जुट उद्योगसम्बन्धी सीप र अनुभवको कमी छ।
विशेषज्ञहरूका अनुसार उद्योग पुनः सञ्चालन गर्नुअघि दक्ष जनशक्ति विकासका लागि विशेष कार्यक्रम आवश्यक छ। “मानव संसाधन तयार नगरी गरिएको लगानी जोखिमपूर्ण हुन्छ,” एक उद्योग विज्ञले भने। तालिम, प्राविधिक शिक्षा र आकर्षक रोजगारी वातावरण बिना योग्य कामदार आकर्षित गर्न कठिन हुने देखिन्छ। उद्योगसँग सम्बन्धित वित्तीय दायित्वहरू पनि पुनः सञ्चालनका लागि प्रमुख अवरोध बनेका छन्। करार सेवामा रहेका ४६ जना पूर्व कर्मचारीले २०७३ जेठदेखि २०७७ मंसिरसम्मको करिब ३ करोडभन्दा बढी तलब पाउन बाँकी रहेको छ। श्रम कार्यालय हुँदै अदालतबाट निर्णय भए पनि भुक्तानी हुन सकेको छैन।
यसका अतिरिक्त विद्युत् बक्यौता, कर दायित्व र अन्य प्रशासनिक जिम्मेवारीहरू पनि अझै समाधान हुन बाँकी छन्। यस्ता दायित्वहरू समाधान नगरी उद्योग सञ्चालनमा ल्याउँदा थप कानुनी र वित्तीय समस्या सिर्जना हुन सक्ने जोखिम रहेको छ। मिलको स्वामित्वमा रहेको करिब ६९ बिघा १० कठ्ठा जग्गा अतिक्रमणको चपेटामा परेको छ। उद्योग बन्द भएपछि सुरक्षा व्यवस्था कमजोर हुँदा विभिन्न व्यक्तिहरूले जग्गा र संरचनामा कब्जा जमाएका छन्। कतिपय पुराना क्वार्टरमा पूर्व कर्मचारी र तिनका परिवार बसिरहेका छन् भने केही स्थानमा नयाँ बसोबाससमेत भएको छ। पूर्व प्रशासक तिम्सिनाका अनुसार करिब १२०० परिवार यस्ता क्वार्टरमा बस्दै आएका छन्। कतिपयले आफू बसेका घर अरूलाई बिक्री गरेर गइसकेका छन्, जसले स्वामित्व र कानुनी अवस्थालाई झन् जटिल बनाएको छ। उद्योग पुनः सञ्चालनका लागि यी सबै संरचना खाली गराउनुपर्ने हुन्छ, जसले सामाजिक र राजनीतिक विवाद निम्त्याउन सक्छ।
उद्योगका पूर्व प्रशासक तारानाथ तिम्सिना का अनुसार वर्तमान अवस्थामा मिललाई सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउने सम्भावना न्यून छ। “पुराना मेसिन मर्मत गरेर उत्पादन सुरु गरिए पनि बजारअनुसार गुणस्तरीय उत्पादन सम्भव हुँदैन,” उहाँले बताउनुभयो। उहाँका अनुसार उद्योगलाई प्रतिस्पर्धी बनाउने हो भने डेढदेखि दुई अर्ब रुपैयाँसम्मको लगानी आवश्यक पर्न सक्छ। यो रकम केवल मर्मतका लागि नभई नयाँ मेसिन जडान, पूर्वाधार पुनर्निर्माण, आधुनिक प्रविधिको समावेश र व्यवस्थापन सुधारका लागि आवश्यक हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न उत्पादन गुणस्तर, लागत र वितरण प्रणालीमा सुधार अनिवार्य हुने भएकाले पुरानो संरचनामा आधारित सञ्चालन दीर्घकालीन रूपमा टिकाउ नहुने विज्ञहरूको मत छ।
उद्योग बन्द भएपछि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा चोरी, तोडफोड र अव्यवस्थित प्रयोगका घटनाहरू बढेका छन्। कर्मचारी मनोज खड्काका अनुसार सुरक्षा कमजोरीका कारण उद्योगको अवस्था झन् बिग्रिँदै गएको छ। “यदि समयमै संरक्षण गरिएको भए अहिलेको जस्तो अवस्था आउँदैनथ्यो,” उहाँले भन्नुभयो । सुरक्षा व्यवस्थापन सुधार नगरी कुनै पनि पुनः सञ्चालन योजना सफल नहुने स्पष्ट देखिन्छ। उद्योग परिसरको संरक्षण, निगरानी र कानुनी संरचना सुदृढ पार्नु आवश्यक छ ।विराटनगर जुटमिल पुनः सञ्चालनको विषय राजनीतिक दलहरूको भाषणमा बारम्बार उठ्ने गरेको छ । चुनावी घोषणापत्रदेखि सरकार गठनसम्मका बहसमा यो विषय प्राथमिकतामा पर्ने गरेको भए पनि व्यवहारमा ठोस प्रगति हुन सकेको छैन ।
नयाँ सरकार गठनसँगै फेरि एकपटक यो मुद्दा चर्चामा आएको छ। तर विगतका अनुभवले देखाएको छ कि केवल घोषणाले मात्र यस्तो जटिल उद्योग पुनर्जीवित गर्न सकिँदैन। दीर्घकालीन योजना, पर्याप्त लगानी, स्पष्ट नीतिगत ढाँचा र राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ। विज्ञहरूका अनुसार उद्योग पुनः सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (एएए) मोडल उपयुक्त हुन सक्छ। निजी क्षेत्रको लगानी र व्यवस्थापन दक्षता तथा सरकारी सहजीकरणको संयोजनले दीर्घकालीन समाधान दिन सक्छ ।
त्यसैगरी, आधुनिक प्रविधि, उत्पादन विविधीकरण र अन्तर्राष्ट्रिय बजारसँग जोडिने रणनीति आवश्यक देखिन्छ। जुट उत्पादनलाई मात्र नभई अन्य मूल्यवद्र्धित उत्पादनतर्फ ध्यान दिनुपर्ने सुझाव दिइएको छ। उद्योगसँग जोडिएका हजारौं परिवार अहिले पनि यसको पुनः सञ्चालनको प्रतीक्षामा छन्। स्थानीय स्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र सामाजिक विकासका लागि यस उद्योगको पुनर्जीवन महत्वपूर्ण मानिन्छ।
विराटनगर क्षेत्रका बासिन्दाहरूका लागि यो उद्योग केवल आर्थिक स्रोत मात्र नभई पहिचानको प्रतीकसमेत हो। त्यसैले यसको पुनः सञ्चालनले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विराटनगर जुटमिलको पुनर्जीवन केवल एउटा उद्योग सञ्चालनको विषय मात्र होइन, नेपालको औद्योगिक पुनरुत्थानको संकेत पनि हुन सक्छ। तर यसको वर्तमान अवस्था, वित्तीय दायित्व, प्रविधिगत कमजोरी, जनशक्ति अभाव र सामाजिक जटिलता हेर्दा पुनः सञ्चालन चुनौतीपूर्ण छ।
राजनीतिक प्रतिबद्धता र जनअपेक्षाबीच सन्तुलन कायम गर्दै व्यवहारिक योजना बनाउनु अहिलेको मुख्य आवश्यकता हो। अन्यथा, इतिहास बोकेको यो उद्योग केवल सम्झनामा सीमित हुने खतरा बढ्दै जानेछ।


