Banijya News

नक्कली सरकारी पत्र बनाउने व्यवसायी नवीनकुमार अग्रवाल पक्राउ

1
1.1K Shares

नक्कली सरकारी पत्र बनाएर प्रतिबन्धित छोकडा आयात गर्न खोज्ने व्यवसायी नवीनकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालिकास्थानमा रहेको सिमभिन इन्टरनेसनल इम्पेक्सका सञ्चालक अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको हो ।

नक्कली सरकारी पत्र बनाएर सय टन प्रतिबन्धित छोकडा आयात गर्न खोजेपछि पर्साको वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट अग्रवाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम २४ चैत २०७६ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धका बाबजुद अग्रवालले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्ने नक्कली अनुमतिपत्र तयार गरी वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेको पाइएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार अग्रवालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । त्यसका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत लिइएको श्रेष्ठले जानकारी दिए ।

1

Scroll to Top