Banijya News

“उठिबास होइन, स्थायी समाधान हाम्रो लक्ष्य”-प्रधानमन्त्री बालेन्द्र शाह

1
1.1K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाका नदीकिनार तथा सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्वासी बस्ती हटाउने सरकारी कदमबारे स्पष्ट पार्दै यसलाई नागरिक विस्थापन होइन, दीर्घकालीन समाधानको प्रक्रिया भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकार नागरिकको आवास अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार हाल सञ्चालनमा रहेको अभियान अव्यवस्थित बसोबासको समस्या समाधान गर्न कानुनी आधारमा अघि बढाइएको हो। “सरकारले चालिरहेका सम्पूर्ण कदमहरू नागरिक हटाउने उद्देश्यले होइन, व्यवस्थित बसोबासको सुनिश्चितता गर्दै स्थायी समाधान खोज्ने दिशामा केन्द्रित छन्,” उनले लेखेका छन्। उनले नागरिकलाई भ्रममा नपर्न, हल्ला नफैलाउन र आधिकारिक सूचनामै विश्वास गर्न आग्रह गरेका छन्।

पछिल्लो समय नदीकिनार क्षेत्रका बस्ती हटाउने विषयमा विभिन्न टिप्पणी, आलोचना र आशंका सार्वजनिक भइरहेका छन्। यसप्रति सरकार गम्भीर रहेको जनाउँदै शाहले केही समूहले नियोजित रूपमा त्रास फैलाउने प्रयास गरिरहेको संकेत गरेका छन्। “भूमिहीन र अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूमा उठिबास हुने डर फैलाउने प्रयास भएको सूचना प्राप्त भएको छ, जसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ,” उनले उल्लेख गरेका छन्।

सरकारले दीर्घकालीन समाधानमा बाधा पुर्‍याइरहेका पुराना कानुनी प्रावधानहरू संशोधन गर्ने कदम पनि अघि बढाएको छ। विशेषगरी भूमिसम्बन्धी ऐन, २०२१ का केही दफाहरू अध्यादेशमार्फत खारेज गरिएको भन्दै शाहले अब वास्तविक भूमिहीनको पहिचान प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्। उनका अनुसार डिजिटल माध्यमबाट लगत संकलन, विवरण प्रमाणीकरण र अभिलेख निर्माणको काम अघि बढाइएको छ।

यस प्रक्रियाबाट वास्तविक भूमिहीन नागरिकको अवस्था स्पष्ट रूपमा पहिचान गरी पारदर्शी र व्यवस्थित समाधानतर्फ अघि बढिने सरकारको योजना छ। प्रधानमन्त्री शाहले असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। “नदीकिनार जस्ता जोखिमयुक्त क्षेत्रमा बसिरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा सार्ने काम प्राथमिकतामा राखिएको छ,” उनले बताएका छन्।

त्यसैगरी, अन्य भूमिहीन नागरिकका हकमा सम्बन्धित आयोगको सिफारिस तथा संकलित विवरणका आधारमा आवश्यक निर्णय गरिने उनले स्पष्ट पारेका छन्। सरकारले कुनै पनि नागरिक घरबारविहीन नहुने सुनिश्चितता गर्ने भन्दै उनले सम्मानजनक र स्थायी आवासको अधिकार कार्यान्वयनमा जोड दिएका छन्।

balen-status-1777867877.JPG

1

Scroll to Top