Banijya News

आगजनीपछि पोखरा भाटभटेनीको पुनर्जन्म, कर्मचारीहरूलाई पुनः काममा फर्काइयो

1
1.2K Shares

भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त बनेको भाटभटेनी सुपरमार्केटको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ। ठूलो क्षति र अवरोधका बीच पुनर्निर्माण सम्पन्न गर्दै कम्पनीले आजदेखि विधिवत रूपमा सेवा पुनः सुरु गरेको हो।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनः सञ्चालनलाई व्यवसायिक पुनरुत्थान मात्र नभई उपभोक्ताप्रति प्रतिबद्धताको निरन्तरताका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार आगजनीले पूर्ण रूपमा नष्ट भएको संरचनालाई आधुनिक मापदण्डअनुसार पुनर्निर्माण गरी पुरानै क्षमतामा सञ्चालनमा ल्याइएको हो। “हामीले छोटो समयमै भवन पुनःनिर्माण गरेर सेवामा फर्किन सफल भएका छौं, यो हाम्रो टीमको मेहनत र ग्राहकको विश्वासको परिणाम हो,” उनले बताए ।

पोखरा स्टोर पुनः सञ्चालनसँगै स्थानीय बजारमा पुनः चहलपहल बढ्ने अपेक्षा गरिएको छ। आगजनीपछि लामो समय सेवा अवरुद्ध हुँदा उपभोक्ताहरूले दैनिक उपभोग्य सामग्रीका लागि वैकल्पिक बजार खोज्न बाध्य भएका थिए। अब स्टोर खुलेपछि उपभोक्ताले सहज रूपमा एकै स्थानमा आवश्यक सामग्री पाउने विश्वास गरिएको छ।

भाटभटेनी समूहले यसअघि पनि देशका विभिन्न स्थानमा क्षतिग्रस्त बनेका स्टोरहरू पुनः सञ्चालनमा ल्याइसकेको छ। कोटेश्वर, महाराजगन्ज र चितवनस्थित स्टोरहरू पुनः सञ्चालनमा आइसकेका छन् भने अन्य प्रभावित स्थानहरूमा पनि पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ।

भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा देशका विभिन्न क्षेत्रमा रहेका भाटभटेनीका दर्जनभन्दा बढी स्टोरहरूमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो। उक्त घटनाले निजी क्षेत्रलाई ठूलो आर्थिक क्षति पु¥याएको थियो भने लगानीकर्तामा असुरक्षा र अनिश्चितताको भावना बढाएको थियो।

व्यवसायीहरूका अनुसार यस्तो घटनाले दीर्घकालीन रूपमा लगानी वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छ। तथापि, भाटभटेनीले पुनः सञ्चालनमार्फत ‘व्यवसायिक निरन्तरता’ को सन्देश दिएको छ। गुरुङले भविष्यमा यस्ता घटनाबाट जोगिन सुरक्षा व्यवस्थामा थप सुधार गरिने पनि संकेत गरेका छन्।

पोखरामा स्टोर पुनः सञ्चालनसँगै रोजगारीका अवसरहरू पनि पुनः सिर्जना भएका छन्। आगजनीपछि प्रभावित भएका कर्मचारीहरूलाई पुनः काममा फर्काइएको कम्पनीले जनाएको छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

bbsmpokhara-(3)-1777868103.jpeg

 

1

Scroll to Top