नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो आगामी तीन वर्षे कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्ने घोषणा गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्रलाई केवल दर्शक होइन, नीति निर्माणको सक्रिय सहकार्यकर्ताका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारे।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालमा अध्यक्ष बन्ने व्यवस्था छ। सोहीअनुसार नेतृत्व समाल्दै श्रेष्ठले आफ्नो प्राथमिकता स्पष्ट गर्दै नीति, बजेट, कानुन र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। “निजी क्षेत्रको आवाज केवल सुनिने मात्र होइन, निर्णय प्रक्रियामा प्रतिबिम्बित हुने प्रणाली निर्माण गरिनेछ,” उनले बताए।
श्रेष्ठले निजी क्षेत्रप्रतिको सामाजिक धारणा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उद्यमी र व्यवसायीप्रति नकारात्मक सोच हटाउने अभियान सञ्चालन गर्ने बताए। उनका अनुसार उद्यमीहरूलाई ‘शोषक’ र व्यवसायीलाई ‘कर छली गर्ने’ रूपमा चित्रण गर्ने प्रवृत्ति गलत हो। “उद्यमी भनेको सम्पत्ति निर्माता हो, व्यवसायी राज्यको कर प्रणालीको सहयात्री हो भन्ने सन्देश समाजमा स्थापित गर्नुपर्ने आवश्यकता छ,” उनले भने।
उनले निजी सम्पत्ति, व्यावसायिक अधिकार र लगानीको सुरक्षा सुनिश्चित गर्न महासंघले सशक्त पैरवी गर्ने जानकारी दिए। व्यावसायिक विवादलाई फौजदारी मुद्दाका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटीको अभाव र न्यायिक प्रक्रिया ढिलो हुने समस्या समाधानमा महासंघ सक्रिय रूपमा लाग्ने उनको भनाइ छ।
नेपालमा लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै श्रेष्ठले स्वदेशी तथा विदेशी दुवै लगानीलाई प्रोत्साहन गर्ने नीति वातावरण निर्माणका लागि सरकारसँग निरन्तर संवाद गर्ने बताए। “देशभित्रको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ र विदेशी लगानीकर्तालाई सहज वातावरण उपलब्ध गराइनेछ,” उनले स्पष्ट पारे।
आगामी कार्यकालमा महासंघलाई केन्द्रमा मात्र सीमित नराखी देशभर सशक्त बनाउने योजना पनि उनले प्रस्तुत गरे। जिल्ला, नगर, वस्तुगत र क्षेत्रगत संघहरूको भूमिका अझ प्रभावकारी बनाउने तथा सदस्यहरूको आवाजलाई राष्ट्रिय तहसम्म पु¥याउने प्रणाली विकास गरिने उनले बताए। साथै महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
श्रेष्ठले आफ्नो कार्यकालका लागि ‘६ स्तम्भ, ६० पहल’ शीर्षकमा विस्तृत कार्यक्रम तयार पारिसकेको जानकारी पनि दिए। यस अन्तर्गत राष्ट्रिय सदस्य सञ्जाल सुदृढीकरण, आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता वृद्धि, विकास सहयोग, श्रम–सिप र उत्पादकत्व सुधार तथा निजी क्षेत्रको प्रवद्र्धन र संरक्षण जस्ता प्रमुख क्षेत्र समेटिएका छन्।
कार्यक्रममा महासंघ सचिवालयको संरचनागत सुधार, अनुसन्धान र कानुनी अध्ययनका लागि विशेष शाखा स्थापना, औद्योगिक क्षेत्र विकास, करार उत्पादन प्रणाली र क्षेत्रीय मूल्य शृङ्खला विस्तारजस्ता पहलहरू समावेश गरिएको छ। साथै व्यावसायिक विवादलाई गैरअपराधीकरण गर्ने र निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने विषयलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।
श्रेष्ठले अल्पकालीन राहतभन्दा दीर्घकालीन संरचनागत सुधारलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पार्दै आफ्नो कार्यकाललाई निजी क्षेत्र सुदृढीकरणको निर्णायक चरण बनाउने प्रतिबद्धता व्यक्त गरे।


