मधेस प्रदेश सरकार फेरि अस्थिरताको चपेटामा परेको छ। सत्तारुढ गठबन्धनको महत्वपूर्ण घटक जनमत पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएसँगै प्रदेश सरकारको भविष्य अनिश्चित बनेको हो। जनमत पार्टीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाएपछि राजनीतिक तरंग तीव्र बनेको छ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालका अनुसार जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको समर्थन फिर्ता सम्बन्धी पत्र प्राप्त भएको छ। १२ सदस्यीय जनमत पार्टी हाल सरकारमा सहभागी रहँदै अर्थ मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ। पार्टीका तर्फबाट महेश यादव अर्थमन्त्री तथा बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा कार्यरत छन्।
प्रमुख सचेतक सिंहले पार्टीको निर्णयअनुसार सरकारप्रतिको समर्थन फिर्ता लिइएको पुष्टि गरेका छन्। उनले भने, “पार्टीको आधिकारिक निर्णयअनुसार हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं।” तर, यस विषयमा अर्थमन्त्री तथा संसदीय दलका नेता महेश यादवले भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। एउटै पार्टीभित्र दुई फरक धारणा सार्वजनिक हुनु जनमत पार्टीभित्र आन्तरिक मतभेद चर्किएको संकेतका रूपमा हेरिएको छ।
पछिल्ला केही सातादेखि जनमत पार्टीले समर्थन फिर्ता लिन सक्ने चर्चा चलिरहे पनि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार स्थिर रहेको दाबी गर्दै आएका थिए। तर जनमतको औपचारिक निर्णयपछि सरकारको बहुमतमै प्रश्न उठेको छ। यसले मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढाएको छ।
यसअघि पनि आन्तरिक विवादकै कारण जनमत पार्टीले आफ्नै नेतृत्वमा बनेको सरकार ढालेको इतिहास छ। जेनजी आन्दोलनका क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि कार्यान्वयन नगरेपछि पार्टीले उनलाई हटाउँदै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको थियो। त्यतिबेला वर्तमान अर्थमन्त्री महेश यादव सक्रिय भूमिकामा थिए भने अहिले उनलाई सत्ताबाट बाहिर पार्ने प्रयासमा प्रमुख सचेतक चन्दनकुमार सिंह अगाडि देखिएका छन्।
राजनीतिक स्रोतहरूका अनुसार अब नयाँ गठबन्धन निर्माणको कसरत तीव्र भएको छ। एमाले, जसपा, जनमत र लोसपाबीच नयाँ सरकार गठनको सम्भावनाबारे छलफल भइरहेको दाबी गरिएको छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०० जना सांसद सक्रिय छन्। तीमध्ये एमालेका २४, जसपाका १८, जनमतका १२ र लोसपाका ८ सांसद गरी ६२ जनाको समर्थनमा नयाँ सरकार गठनको तयारी भइरहेको स्रोतले जनाएको छ।
नयाँ समीकरण बनेमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र तथा एकीकृत समाजवादी)लाई सरकार बाहिर राख्ने रणनीति अघि सारिएको बताइएको छ। यसअघि कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकार बहुदलीय समर्थनमा गठन भएको थियो। कांग्रेस नेता कृष्ण यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
जनमत पार्टीको समर्थन फिर्तासँगै मधेस प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ। आगामी केही दिनभित्रै नयाँ सरकार गठन वा वर्तमान सरकारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।


