मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रका लागि एउटा महत्त्वपूर्ण र राहतपूर्ण निर्णय गर्दै सर्वोच्च अदालतले गैरबैंकिङ सम्पत्तिको बिक्रीमा लगाइएको ३ वर्षे समयावधिको कानुनी व्यवस्थालाई बदर गरिदिएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीका क्रममा धितो लिलाम नभएर आफैँले सकार गरेको जग्गा वा सम्पत्ति तोकिएको समयभित्र बेचबिखन गरिसक्नुपर्ने वा त्यसो गर्न नसकेमा सरकारको स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था थियो। सर्वोच्चको यस फैसलासँगै अब बैंकहरूले त्यस्ता सम्पत्तिहरू सरकारको पूर्वअनुमतिबिना नै प्रचलित कानुन बमोजिम बिक्री वितरण गर्न पाउने बाटो खुलेको छ।
यो फैसला कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा। मनोजकुमार शर्मा र डा। नहकुल सुवेदी सम्मिलित पाँच सदस्यीय संवैधानिक इजलासले २०८३ वैशाख २१ गते सुनाएको हो। यसअघि २०८२ मंसिर १० गते यही इजलासले उक्त व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का तर्फबाट अधिवक्ता सागर अधिकारीसमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त व्यवस्था संविधानसँग बाझिएको ठहर गरेको हो।
सरकारले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ मार्फत भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ मा ‘१२ च’ थप गर्दै यस्तो सम्पत्ति व्यवस्थापनमा कडाइ गरेको थियो। उक्त संशोधन अनुसार, बैंक वा वित्तीय संस्थाले कर्जा सुरक्षणबापत धितो लिएको जग्गा लिलाम गर्दा कसैले नसकारेमा र बैंक आफैँले सकार गर्दा हदबन्दीभन्दा बढी भएमा त्यस्तो जग्गा ३ वर्षभित्र बेचबिखन गरिसक्नुपर्ने नियम बनाइएको थियो । तोकिएको समयमा बिक्री नभएमा नेपाल सरकारको स्वीकृति लिनुपर्ने उक्त प्रावधानले बैंकहरूको लगानी जोखिममा पार्ने र खराब कर्जा असुली प्रक्रियामा गम्भीर अवरोध पुर्याउने भन्दै रिट दायर गरिएको थियो।
रिट निवेदकहरूले उक्त कानुनी व्यवस्था संविधानको धारा १७ ९सम्पत्तिको हक० र धारा २५ ९सम्पत्तिको हक० सँग बाझिएको जिकिर गरेका थिए। सर्वोच्च अदालतले रिट जारी गर्ने आदेश दिएसँगै बैंकहरूलाई गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न ठूलो कानुनी अड्चन हटेको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूसँग करिब ५१ अर्ब ३३ करोड रूपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। यस ऐतिहासिक निर्णयले बैंकिङ क्षेत्रको लगानी सुरक्षा, तरलता व्यवस्थापन र खराब कर्जा असुली प्रक्रियामा निकै सकारात्मक प्रभाव पार्ने विज्ञ तथा बैंकरहरूले अपेक्षा गरेका छन्।


