सरकारले अध्यादेशमार्फत ‘श्रम ऐन, २०७४’ संशोधन गर्ने तयारी गरेको छ । ऐन संशोधनका लागि तयार पारिएको प्रारम्भिक मस्यौदामा श्रमिकले सञ्चित गर्न पाउने घर बिदा र बिरामी बिदाको सीमा घटाउनेदेखि मुख्य काममा समेत निश्चित परिस्थितिमा आउटसोर्स (श्रमिक आपूर्तिकर्ता) मार्फत श्रमिक लगाउन पाउने व्यवस्थासम्म प्रस्ताव गरिएको छ ।
सरकारले तयार पारेको संशोधन मस्यौदामा श्रमिकको बिदा सञ्चित गर्ने सुविधामा कटौती, श्रमिक आपूर्तिकर्तामार्फत काममा लगाउन पाउने क्षेत्र विस्तार, गैरकानुनी हड्तालका क्रममा हिंसा तथा तोडफोड गर्नेलाई सेवाबाट हटाउन सकिने र परीक्षणकालको दुरुपयोग रोक्ने प्रावधान समेटिएका छन् ।
त्यस्तै, व्यक्तिगत श्रम विवादमा श्रम कार्यालयमा निवेदन दिनुअघिको समयसीमा बढाउने, विदेशी विशेषज्ञ तथा प्राविधिकको श्रम स्वीकृति प्रक्रियालाई पारदर्शी बनाउने र श्रमिकको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी अधिकार सुनिश्चित गर्ने व्यवस्था पनि मस्यौदामा प्रस्ताव गरिएको छ ।
मस्यौदाले विद्यमान ऐनको दफा ४९ संशोधन गर्दै श्रमिकले सञ्चित गर्न पाउने घर बिदा र बिरामी बिदाको अधिकतम सीमा घटाउन खोजेको छ । हालको व्यवस्थाअनुसार श्रमिकले ९० दिनसम्म घर बिदा र ४५ दिनसम्म बिरामी बिदा सञ्चित गर्न पाउँछन् । तोकिएको सीमाभन्दा बढी बिदा सञ्चित भएमा प्रत्येक वर्षको अन्त्यमा त्यसबापत नगद भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
तर, प्रस्तावित संशोधनअनुसार अब घर बिदा र बिरामी बिदा दुवै अधिकतम ३०/३० दिनसम्म मात्र सञ्चित गर्न पाइनेछ । यसरी तोकिएको सीमाभन्दा बढी बिदा सञ्चित हुने अवस्थामा रोजगारदाताले श्रमिकसँग परामर्श गरी कार्य सञ्चालनमा असर नपर्ने गरी बिदा उपभोग गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
रोजगारदाताको कारणले श्रमिकले बिदा उपभोग गर्न नसकेको वा बिदा उपभोग गराउने व्यवस्था सम्भव नभएको अवस्थामा मात्रै बढी सञ्चित बिदाबापतको पारिश्रमिक भुक्तानी गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यद्यपि, नयाँ व्यवस्था लागू हुँदाका बखत श्रमिकसँग ३० दिनभन्दा बढी सञ्चित बिदा भएमा त्यस्तो बिदा कट्टा वा समाप्त गर्न नपाइने मस्यौदामा उल्लेख छ । त्यस्तो बिदा श्रमिकसँग परामर्श गरी दुई वर्षभित्र उपभोग गराउनुपर्ने वा आपसी सहमतिमा नगद भुक्तानी गरेर फरफारक गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
विशेष अवस्थामा आउटसोर्सिङ गर्न पाइने
मस्यौदाले श्रमिक आपूर्तिकर्तामार्फत काममा लगाउन पाउने व्यवस्थाको दायरा पनि विस्तार गर्न खोजेको छ । विद्यमान श्रम ऐनको दफा ५८ ले व्यवसाय वा सेवाको मुख्य काममा श्रमिक आपूर्तिकर्तामार्फत काममा लगाउन रोक लगाएको छ । तर प्रस्तावित संशोधनले निश्चित परिस्थितिमा मुख्य काममै समेत आउटसोर्सिङ गर्न सकिने व्यवस्था गर्न लागेको हो ।
अब सहायक कामका अतिरिक्त उत्पादन वा सेवा सञ्चालनमा आकस्मिक रूपमा कार्यभार बढेको अवस्थामा, मौसमी उत्पादनका लागि, निश्चित अवधिको आयोजना सञ्चालन गर्न, विशिष्ट प्राविधिक सेवा उपलब्ध गराउन वा अस्थायी प्रकृतिका अन्य काममा इजाजतप्राप्त श्रमिक आपूर्तिकर्तामार्फत श्रमिक लगाउन सकिनेछ । तर, नियमित तथा निरन्तर सञ्चालन हुने स्थायी प्रकृतिको मुख्य काममा अनिश्चितकालसम्म श्रमिक आपूर्तिकर्तामार्फत काममा लगाउन भने पाइने छैन ।
आउटसोर्सिङमार्फत काममा लगाइएका श्रमिकले समान काम गर्ने अन्य श्रमिकसरह न्यूनतम पारिश्रमिक, व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षा पाउनुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ । नियमित कामलाई कृत्रिम रूपमा विभाजन गर्ने वा पटकपटक सम्झौता नवीकरण गरेर रोजगारदाताको दायित्वबाट उम्किन नपाइने प्रस्ताव गरिएको छ । त्यस्तै, मुख्य रोजगारदाताले सामाजिक सुरक्षा योगदानको नियमित विवरण र अभिलेख राख्नुपर्ने व्यवस्था पनि थप गर्न खोजिएको छ ।
गैरकानुनी हड्तालमा हिंसा गर्नेलाई सेवाबाट हटाउन सकिने
श्रम ऐनको दफा १३१ संशोधन गर्दै खराब आचरण र सजायसम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउने प्रस्ताव गरिएको छ । मस्यौदामा गैरकानुनी हड्तालका क्रममा हिंसा, धम्की तथा तोडफोडमा संलग्न हुने श्रमिकलाई सेवाबाट हटाउन सकिने व्यवस्था राखिएको छ ।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार गैरकानुनी हड्तालका क्रममा कुनै श्रमिकलाई धम्की, बल प्रयोग वा गैरकानुनी माध्यमबाट सहभागी हुन बाध्य पार्ने, कार्यस्थलमा हिंसा वा गम्भीर अवरोध सिर्जना गर्ने तथा रोजगारदाताको सम्पत्तिमा जानाजानी गम्भीर क्षति पुर्याउने श्रमिकलाई सेवाबाट हटाउन सकिनेछ ।
त्यस्तै, सामान्य हेलचेर्क्याइँकै आधारमा श्रमिकको तलब कट्टा गर्ने वा तलब वृद्धि तथा बढुवा रोक्का गर्ने व्यवस्था भने थप कडा बनाइएको छ । अब मनासिब कारणबिना पटकपटक हेलचेर्क्याइँ गरी उत्पादन वा सेवामा उल्लेखनीय कमी ल्याएको र त्यसबाट प्रमाणित हानि भएको अवस्थामा मात्रै यस्तो सजाय दिन सकिने प्रस्ताव गरिएको छ ।
तर श्रमिकको सामूहिक अधिकारलाई संरक्षण गर्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ । कानुनबमोजिम सामूहिक सौदाबाजी, श्रमिक प्रतिनिधित्व, शान्तिपूर्ण विरोध, वैधानिक हड्ताल वा अन्य श्रमिक अधिकार प्रयोग गरेकै आधारमा खराब आचरण मान्न नपाइने प्रस्ताव गरिएको छ । सामूहिक गतिविधिमा उपस्थित भएकै कारण कुनै श्रमिक व्यक्तिगत रूपमा संलग्न रहेको प्रमाणित भएको नमानिने व्यवस्था पनि थपिएको छ ।
परीक्षणकालको दुरुपयोग रोक्ने प्रस्ताव
मस्यौदाले अस्थायी वा परीक्षणकालको नाममा श्रमिकलाई लामो समयसम्म अनिश्चित रोजगारीमा राख्ने प्रवृत्ति नियन्त्रण गर्न खोजेको छ । ऐनको दफा १० र १३ संशोधन गर्दै रोजगारीको वास्तविक प्रकृतिका आधारमा श्रमिकको हैसियत निर्धारण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
रोजगार सम्झौतामा कार्यगत वा समयगत रोजगारी उल्लेख गरिएको भए पनि वास्तविक रूपमा नियमित प्रकृतिको काम भइरहेको छ भने त्यस्तो रोजगारीलाई कार्यगत वा समयगत मान्न नपाइने मस्यौदामा उल्लेख छ ।
त्यस्तै, नियमित, कार्यगत, समयगत, आकस्मिक वा आंशिक जुनसुकै प्रकृतिको रोजगारीमा रहेका श्रमिकलाई न्यूनतम पारिश्रमिक, व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाबाट वञ्चित गर्न नपाइने व्यवस्था दफा १० मा थप गर्न लागिएको छ ।
विद्यमान ऐनले सबै श्रमिकका लागि परीक्षणकाल ६ महिना तोकेको छ । तर संशोधन प्रस्तावअनुसार निश्चित अवधि वा निश्चित कामका लागि नियुक्त श्रमिकको परीक्षणकाल कुल रोजगारी अवधि वा ६ महिनामध्ये जुन कम हुन्छ, सोभन्दा लामो हुने छैन ।
३० दिन वा सोभन्दा कम अवधिका लागि कार्यगत वा समयगत रोजगारीमा नियुक्त श्रमिकलाई परीक्षणकाल लागू नहुने प्रस्ताव गरिएको छ । एउटै प्रकृतिको काममा निरन्तर नियुक्त गरेर पटकपटक परीक्षणकाल राख्दै रोजगारदाताको दायित्वबाट बच्नसमेत नपाइने व्यवस्था मस्यौदामा छ ।
श्रम विवादमा कार्यालय जाने समयसीमा बढ्ने
मस्यौदाले व्यक्तिगत श्रम विवाद समाधानका लागि श्रमिकले श्रम कार्यालयमा निवेदन दिनुअघि रोजगारदातासँग संवाद गर्ने समयसीमा पनि बढाएको छ ।
ऐनको दफा ११४ मा संशोधन गर्दै रोजगारदाताले छलफलको सूचना नदिएमा हालको ७ दिनको सट्टा १५ दिन पर्खनुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, छलफलबाट सहमति हुन नसकेमा हालको १५ दिनको सट्टा ३० दिनपछि मात्रै श्रम कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गर्न खोजिएको छ ।
दफा ११६ र १२३ मा समेत संशोधन प्रस्ताव गरिएको छ । प्रचलित कानुनअनुसार निर्धारित न्यूनतम पारिश्रमिक र अन्य अनिवार्य सेवा सुविधा पूर्ण रूपमा कार्यान्वयन भइसकेको अवस्थामा सोही विषयमा पुनः उही सामूहिक मागदाबी पेस गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको हो ।
यद्यपि, न्यूनतमभन्दा बढी पारिश्रमिक, अतिरिक्त सुविधा तथा सामूहिक हितका विषयमा रोजगारदातासँग सौदाबाजी गर्न यसले रोक लगाउने छैन । न्यूनतम पारिश्रमिक तथा अनिवार्य सेवा सुविधा कार्यान्वयन नभएको अवस्थामा श्रमिकले उजुरी तथा कानुनी उपचार खोज्न पाउने अधिकार पनि यथावत् रहने मस्यौदामा स्पष्ट पारिएको छ ।
विदेशी विशेषज्ञको श्रम स्वीकृति प्रक्रिया पारदर्शी बनाइने
विदेशी विशेषज्ञ तथा प्राविधिकलाई नेपालमा काम गर्न आवश्यक श्रम स्वीकृति प्रक्रियालाई पारदर्शी र सहज बनाउने प्रस्ताव पनि मस्यौदामा गरिएको छ ।
ऐनको दफा २३ संशोधन गर्दै विदेशी विशेषज्ञ वा प्राविधिकको श्रम स्वीकृतिका लागि आवश्यक योग्यता, पेस गर्नुपर्ने कागजात, निर्णय गर्ने समयसीमा र जिम्मेवार अधिकारीको विवरण श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गर्नुपर्ने व्यवस्था राखिएको छ । साथै, श्रम र अध्यागमनसम्बन्धी निकायले आवश्यक प्रमाणित विवरण आपसमा आदानप्रदान गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यी सबै व्यवस्था हाल प्रारम्भिक मस्यौदामा प्रस्तावित छन् । अध्यादेश जारी भएर कानुनी रूपमा लागू भएपछि मात्रै संशोधनका प्रावधान कार्यान्वयनमा आउनेछन् ।


