Banijya News

प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक विकास र पूर्वाधार साझेदारी विस्तार, २ अर्ब डलर सहयोग माग्ने एजेन्डा

1
1.0K Shares

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण र व्यापार विस्तारका लागि भारतसँग सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि सुरुमा विदेश भ्रमण नगर्ने तथा भारतीय विदेश सचिवसँग भेट नगर्ने निर्णय गरेका शाह अहिले नेपालको विकासका लागि भारतसँग आर्थिक तथा रणनीतिक साझेदारी विस्तार गर्न इच्छुक देखिएका छन्।

भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा छलफल गर्नेछन्। भ्रमणका क्रममा नेपालले भारतसँग २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेज माग गर्ने तयारी गरेको बताइएको छ। उक्त सहयोग पूर्वाधार निर्माण, पुनर्निर्माण तथा आर्थिक विकासका क्षेत्रमा उपयोग गर्ने नेपालको अपेक्षा छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका मुख्य एजेन्डामा व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक एवं डिजिटल कनेक्टिभिटी, प्रविधि तथा नवप्रवर्तन र खेलकुद रहेका छन्।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। यसबाहेक स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि छलफलमा समेटिने अपेक्षा गरिएको छ।

नेपालले लामो समयदेखि उठाउँदै आएको अतिरिक्त हवाई प्रवेश मार्गको विषयलाई पनि प्रधानमन्त्री शाहले प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। विशेषगरी पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्र प्रयोगको अनुमति आवश्यक छ। यसका लागि भारतलाई सहमत गराउन सके दुवै विमानस्थलको व्यावसायिक सम्भावना बढ्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपालको भारतसँग बढ्दो व्यापार घाटा कम गर्न भन्सार तथा गैरभन्सार अवरोध हटाउने विषय पनि महत्त्वपूर्ण हुनेछ। अलैँची, प्लाइवुड, जुत्ता र सिमेन्टजस्ता नेपाली उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन नेपालले पहल गर्नुपर्नेछ। नेपाल–भारत वाणिज्य सन्धिमा रहेका नेपाललाई प्रतिकूल प्रभाव पार्ने प्रावधान पुनरावलोकन गर्न पनि प्रधानमन्त्रीले आग्रह गर्न सक्नेछन्।

आयात–निर्यातलाई सहज बनाउन भारतीय बन्दरगाहसम्मको पहुँच विस्तार, ढुवानी लागत घटाउने तथा सीमावर्ती क्षेत्रमा एकीकृत जाँच चौकी निर्माण र आधुनिकीकरणमा जोड दिनुपर्ने देखिन्छ।

ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन महत्त्वपूर्ण एजेन्डा बन्न सक्छ। यद्यपि आयोजनाको लाभ र लागत बाँडफाँटसम्बन्धी विवादलाई प्राविधिक तहबाट समाधान गरेर मात्र प्रधानमन्त्रीस्तरीय छलफलमा लैजानु उपयुक्त हुने देखिन्छ।

त्यसैगरी, भारतको अग्निपथ योजनाका कारण लामो समयदेखि रोकिएको नेपाली गोर्खा सैनिक भर्तीको विषयलाई पनि निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता छ। दुवै देशका अधिकारीबीच सहमति कायम गरी यस विषयलाई टुङ्गोमा पुर्‍याउने दिशामा प्रधानमन्त्रीले पहल गर्न सक्छन्।

भौतिक पूर्वाधारतर्फ रक्सौल–काठमाडौं रेलमार्ग तथा भारतको सहयोगमा निर्माणाधीन जलविद्युत् आयोजनाको कार्यान्वयनलाई गति दिनुपर्नेछ। विगतमा भएका सहमति र सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन नभएको विषयमा पनि प्रधानमन्त्री शाहले भारतीय समकक्षीको ध्यानाकर्षण गराउन सक्नेछन्।

यसका अतिरिक्त भोटेकोशीमा आएको भीषण बाढीपछिको पुनर्निर्माणका लागि भारतबाट अनुदान तथा सहुलियतपूर्ण ऋण जुटाउने विषय पनि नेपालको प्राथमिकतामा रहनेछ।

नेपालको आर्थिक विकासका लागि भारतसँगको व्यापार, पारवहन, ऊर्जा र कनेक्टिभिटी महत्त्वपूर्ण आधार हुन्। त्यसैले प्रधानमन्त्री शाहको भ्रमण केवल कूटनीतिक भेटघाटमा सीमित नभई विगतका सहमति कार्यान्वयन, नयाँ आर्थिक सहयोग जुटाउने र ठूला पूर्वाधार परियोजनालाई गति दिने अवसरका रूपमा हेरिएको छ।

1

Scroll to Top