Banijya News

तीन सय १० कर विवाद टुंगिए, सरकारले मिनाहा गर्‍यो झण्डै पाँच अर्ब रुपैयाँ

1
1.0K Shares

सरकारले पुराना कर विवाद समाधान गर्न ल्याएको विशेष सहुलियत योजनाबाट व्यवसायीले ब्याज, जरिवाना तथा थप दस्तुरमा ठूलो राहत पाएका छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत ल्याइएको व्यवस्थाअन्तर्गत हालसम्म ३१० वटा कर विवाद टुंगिएका छन् । विवाद समाधान गर्ने क्रममा सरकारले करदातालाई झण्डै ५ अर्ब रुपैयाँ बराबरको अतिरिक्त आर्थिक दायित्व मिनाहा गरेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार, प्रशासनिक पुनरवलोकनमा रहेका १ हजार ४३० वटा कर विवादमध्ये मंसिर ३ गतेसम्म ३१० वटा फछ्र्योट भएका हुन् । विवादमा रहेका कम्पनी तथा व्यावसायिक प्रतिष्ठानले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कबापत ४ अर्ब १ करोड १२ लाख रुपैयाँ सरकारलाई बुझाएका छन् । त्यस्तै, निर्धारित कर रकमको थप १ प्रतिशतका दरले ४ करोड १ लाख रुपैयाँसमेत सरकारी खातामा जम्मा भएको छ ।

यसरी कर विवाद समाधान गर्दा सरकारले कुल ४ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ बराबरको ब्याज, जरिवाना, शुल्क तथा थप दस्तुर मिनाहा गरेको विभागले जनाएको छ । मूल कर र त्यसको थप १ प्रतिशत बुझाएपछि पुरानो विवादबाट उन्मुक्ति पाउने सुविधा दिइएपछि व्यवसायीहरू यसतर्फ आकर्षित भएका हुन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार कर विवाद फिर्ताका लागि हालसम्म ३१६ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ३१० वटा निवेदनमाथिको प्रक्रिया पूरा भइसकेको छ । विभागले प्राप्त निवेदनलाई प्राथमिकतामा राखेर सामान्यतया एकदेखि दुई दिनभित्रै प्रशासनिक प्रक्रिया टुंग्याउने गरेको छ ।

विभागको तथ्यांकले सहुलियत योजना लागू भएपछि कर विवाद समाधान हुने क्रम क्रमशः बढेको देखाउँछ । जेठमा ३ वटा मात्रै विवाद समाधान भएकामा असारमा १९ वटा फछ्र्योट भएका थिए । त्यसपछि साउनमा ५०, भदौमा १०६ र असोजमा सबैभन्दा धेरै १२२ वटा विवाद समाधान भएका छन् । कात्तिकमा १० वटा र मंसिर ३ गतेसम्म थप ६ वटा निवेदन दर्ता भएका छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्म प्रशासनिक पुनरवलोकनमा १ हजार ३०३ वटा कर विवाद विचाराधीन थिए । चालु आर्थिक वर्षमा थप १२७ वटा विवाद जोडिएपछि कुल संख्या १ हजार ४३० पुगेको हो । सरकारले यही पुरानो विवादको चाप कम गर्ने उद्देश्यले आर्थिक ऐन २०८३ मार्फत विशेष सहुलियतको व्यवस्था गरेको हो ।

आर्थिक ऐन २०८३ ले गत जेठ १५ गतेसम्म कर निर्धारण भइसकेका तर त्यसमा असहमति जनाउँदै प्रशासनिक पुनरवलोकन वा न्यायिक प्रक्रियामा गएका करदातालाई यस्तो सुविधा दिएको छ । उक्त व्यवस्थाअनुसार करदाताले निर्धारित कर रकम र त्यसको थप १ प्रतिशत बुझाएर विचाराधीन विवाद फिर्ता लिन सक्नेछन् । यसका लागि पुस मसान्तसम्म निवेदन दिनुपर्ने समयसीमा तोकिएको छ ।

विभागका अनुसार कतिपय ठूला करदाताले भने अन्तिम समयसम्म पर्खेर मात्रै यो सुविधा उपयोग गर्ने तयारी गरेका छन् । अहिले वा पुस मसान्तमा निवेदन दिए पनि बुझाउनुपर्ने रकम समान हुने भएकाले व्यवसायीहरूले तत्काल रकम खर्च नगरी आफ्नै व्यवसायमा परिचालन गर्न खोजेको विभागको बुझाइ छ । त्यसैले आगामी दिनमा थप कर विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

यद्यपि, सहुलियत योजनाबाट केही विवाद समाधान भए पनि ठूलो परिमाणको कर रकम अझै विवादमा छ । विभागका अनुसार प्रशासनिक पुनरवलोकन तथा विभिन्न न्यायिक निकायमा विचाराधीन कर विवादसँग सम्बन्धित रकम १ खर्ब ७१ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । विशेषगरी ठूलो रकमको कर निर्धारणसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन छन् ।

अदालतमा पुगेका मुद्दा फिर्ता लिन भने प्रशासनिक पुनरवलोकनमा रहेका विवादको तुलनामा थप कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । आर्थिक ऐनको दफा ४६(२) अनुसार करदाताले निर्धारित कर र थप १ प्रतिशत बुझाएर निवेदन दिएपछि सम्बन्धित सरकारी निकायले मुद्दा फिर्ताको निर्णय गर्नुपर्ने हुन्छ । त्यसपछि सरकारी वकिलमार्फत अदालतमा निवेदन पेस गरी आवश्यक आदेश लिनुपर्ने व्यवस्था छ ।

योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन विभाग र मातहतका कार्यालयले कर विवादमा रहेका व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्कसमेत बढाएका छन् । फोन तथा पत्रमार्फत सहुलियतबारे जानकारी गराउँदै विवाद समाधानका लागि व्यवसायीलाई प्रोत्साहित गरिरहेको विभागले जनाएको छ ।

लामो समयदेखि कानुनी प्रक्रियामा अल्झिएका कर विवाद समाधान हुँदा सरकारलाई तत्काल राजस्व प्राप्त हुने र निजी क्षेत्रलाई ब्याज, जरिवाना तथा कानुनी झन्झटबाट राहत मिल्ने विभागको अपेक्षा छ । तर, कर विवादका नाममा झण्डै ५ अर्ब रुपैयाँ अतिरिक्त दायित्व मिनाहा गरिनुले भविष्यमा कर अनुशासन र समयमै कर तिर्ने प्रवृत्तिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि उठेको छ ।

सरकारले भने यस व्यवस्थालाई मूल कर छुट दिने योजनाभन्दा पनि पुराना विवाद अन्त्य गरी राजस्व संकलन र व्यावसायिक वातावरण सहज बनाउने उपायका रूपमा अघि सारेको छ । किनकि सहुलियत पाउन करदाताले निर्धारण भएको मूल कर भने अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

1

Scroll to Top