नेपाल निर्माण व्यवसायी महासङ्घले देशको निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। महासङ्घले पत्रकार सम्मेलनमार्फत हालको अवस्था निर्माण उद्योगको इतिहासकै कठिन चरण भएको उल्लेख गर्दै राज्य, बजार र नीतिगत पक्षबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेको छ।
महासङ्घका अनुसार देशभर रहेका करिब ३२ हजार निर्माण व्यवसायी अहिले आर्थिक दबाबमा परेका छन्। सातै प्रदेश र ७७ वटै जिल्लामा फैलिएको निर्माण क्षेत्र कमजोर पुँजीगत खर्च, सामग्रीको मूल्यवृद्धि र सरकारी नीतिको अस्पष्टताका कारण प्रभावित भएको छ। चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये करिब २७ प्रतिशत मात्र खर्च हुनुले विकास निर्माणको गति निकै सुस्त भएको महासङ्घको भनाइ छ।
महासङ्घका अध्यक्ष निकोलस पाण्डेले अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा प्रत्यक्ष देखिएको बताए। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको उनले उल्लेख गरे। उनका अनुसार केही महिनाअघि १३९ रुपैयाँ प्रतिलिटर रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य पनि दोब्बरभन्दा बढी बढेको छ। सिमेन्ट, डण्डी लगायतका सामग्रीमा समेत उच्च मूल्यवृद्धि भएको छ, जसले निर्माण लागत अत्यधिक बढाएको छ।
यसले गर्दा धेरै निर्माण कम्पनीहरू घाटामा काम गर्न बाध्य भएको र कतिपय परियोजना स्थगित गर्नुपर्ने अवस्था आएको महासङ्घले जनाएको छ। लागत बढे पनि सरकारबाट मूल्य समायोजनसम्बन्धी स्पष्ट निर्णय नआउँदा व्यवसायीहरू थप समस्यामा परेका छन्।
महासङ्घले राष्ट्रिय गौरवका आयोजनासहित अधिकांश परियोजनाहरू प्रभावित भएको जनाएको छ। निर्धारित समयभित्र काम सम्पन्न गर्न कठिन हुने भएकाले आयोजनाहरूको म्याद थप, बैंक ग्यारेण्टी र बिमा शुल्कमा सहुलियत दिन सरकारसँग माग गरिएको छ। अन्यथा निर्माण क्षेत्र थप धरासायी हुने चेतावनी दिइएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गरिए पनि ‘लो बिडिङ’ जस्ता समस्या समाधान नभएको महासङ्घको भनाइ छ। साथै, मासिक भुक्तानी, मूल्य समायोजन र उपभोक्ता समितिसम्बन्धी विषयमा अझै स्पष्ट नीति नहुँदा अन्योल कायम रहेको बताइएको छ।
त्यसैगरी, पछिल्लो समय निर्माण व्यवसायीमाथि भइरहेको धरपकडले निजी क्षेत्र नै त्रसित भएको महासङ्घले जनाएको छ। यसले लगानी वातावरण बिगार्ने, रोजगारीमा असर पार्ने र आपूर्ति प्रणाली कमजोर बनाउने जोखिम रहेको उल्लेख गरिएको छ।
महासङ्घले विद्युतीय खरिद प्रणालीसम्बन्धी विषयमा पहिल्यै कानुनी रूपमा स्पष्ट भइसकेको विषयमा पुनः अनुसन्धान र पक्राउ प्रक्रिया अघि बढाइनु दुःखद् भएको जनाएको छ।
हालको अवस्थामा व्यवसायीहरू ‘काम गर्दा घाटा, नगर्दा जरिवाना’को दोहोरो समस्यामा फसेको महासङ्घको निष्कर्ष छ। यस्तो अवस्थामा तत्काल समाधानका लागि एक साताभित्र मूल्य समायोजन र अन्य नीतिगत निर्णय गर्न सरकारलाई आग्रह गरिएको छ।
यदि माग सम्बोधन नभए निर्माण कार्य स्वतः बन्द हुने र चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने महासङ्घले स्पष्ट चेतावनी दिएको छ।


