Banijya News

अञ्जन श्रेष्ठले सम्हाले महासंघको नेतृत्व, नयाँ कार्यसमितिसहित निजी क्षेत्रको नयाँ यात्रा सुरु

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व औपचारिक रूपमा अञ्जन श्रेष्ठको हातमा आएको छ। महासंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका श्रेष्ठले बुधबार जिम्मेवारी सम्हालेपछि बिहीबार पदबहाली गरेका हुन्। पदबहालीसँगै महासंघमा नयाँ कार्यकारिणी समितिले पनि औपचारिक रूपमा काम सुरु गरेको छ।

मंगलबार सम्पन्न महासंघको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको थियो। वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठ विधानअनुसार आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बनेका हुन्। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनका रूपमा रहेको महासंघको नेतृत्व सम्हालेसँगै श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा सरकारसँगको समन्वयलाई प्राथमिकतामा राख्ने संकेत दिएका छन्।

पदबहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि निजी क्षेत्रको आत्मविश्वास बढाउन आवश्यक रहेको बताए। उनले उद्योग, व्यापार, पर्यटन, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी विस्तार गर्न महासंघले सरकारसँग निरन्तर सहकार्य गर्ने बताए।

उनले मुलुकमा लगानीको वातावरण सुधार, बैंक ब्याजदर स्थिरता, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने बताएका छन्। निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दिशामा महासंघले काम गर्ने उनको भनाइ थियो।

नयाँ कार्यसमितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। यही समूहबाट खुलातर्फ १५ जना कार्यकारिणी समिति सदस्य चयन भएका छन् भने सातै प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना सदस्य निर्वाचित भएका छन्।

वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। यस समूहबाट १३ जना कार्यकारिणी समिति सदस्य विजयी भएका छन्। महिलातर्फ सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छन्। त्यस्तै वस्तुगत महासंघको तर्फबाट विश्वनाथ खनाल र सुनैना घिमिरे पनि कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

एसोसिएट समूहबाट प्रबलजंग पाण्डे उपाध्यक्षमा निर्वाचित भएका छन्। यस समूहबाट १७ जना कार्यकारिणी समिति सदस्य चयन भएका छन्। महिलातर्फ अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन्। त्यस्तै द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट मनोज पौडेल, संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ तथा सुमन कुमार श्रेष्ठ कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

महासंघको नयाँ नेतृत्व चयनसँगै निजी क्षेत्रले आर्थिक सुधारका विषयमा सरकारसँग थप प्रभावकारी संवाद हुने अपेक्षा गरेको छ। पछिल्लो समय उद्योग व्यवसायमा आएको मन्दी, घट्दो लगानी, बजार संकुचन, वित्तीय दबाब तथा नीतिगत अस्थिरताका कारण निजी क्षेत्र दबाबमा रहेको अवस्थामा महासंघको नयाँ नेतृत्वबाट ठोस पहलको अपेक्षा गरिएको छ।

निजी क्षेत्रका प्रतिनिधिहरूले महासंघले सरकारसँग सहकार्य गर्दै लगानी प्रवर्द्धन, निर्यात वृद्धि, उद्योगमैत्री नीति निर्माण तथा व्यवसायीको मनोबल उकास्ने दिशामा काम गर्नुपर्ने बताएका छन्। नयाँ कार्यसमितिले आगामी तीन वर्ष महासंघको नेतृत्व गर्दै निजी क्षेत्रका साझा मुद्दामा भूमिका निर्वाह गर्नेछ।

1

Scroll to Top