Banijya News

महिला उद्यमशीलता प्रवर्द्धन गर्न लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सहकार्य

1
1.0K Shares

लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमेन’ पहलअन्तर्गत महिला, साना तथा मझौला उद्यमसम्बन्धी लैङ्गिक आधारमा विभाजित तथ्यांक व्यवस्थापनका लागि सहकार्य सम्झौता गरेको छ ।

उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल विमेन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ (वी–फाइ) ले सहयोग गरिरहेको बैंकले जनाएको छ ।

वी–फाइ विश्वभर महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो। यसअन्तर्गत सञ्चालन हुने ‘विमेन इन्टरप्रेनर्स फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो । यसको उद्देश्य महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्‍याउनु रहेको छ ।

सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउई ले हस्ताक्षर गरेका थिए ।

यस सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांकको संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसबाट महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमका आवश्यकता, चुनौती र अवसरबारे बुझाइ विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

बैंकका अनुसार उक्त तथ्यांकका आधारमा महिला उद्यमीका लागि अझ प्रभावकारी र उपयुक्त वित्तीय समाधान विकास गर्न सकिनेछ ।

यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाइएको छ । बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवद्र्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।

1

Scroll to Top