Banijya News

भारतको कडाइले नेपाली चिया निर्यात संकटमा

1
1.0K Shares

भारतले नेपालबाट हुने चिया आयातमा नयाँ र कडा प्रावधान लागू गरेपछि नेपाली चिया उद्योग गम्भीर संकटमा परेको छ । भारतीय चिया बोर्डले १ मेदेखि लागू हुने गरी जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपालबाट भारततर्फ हुने चिया निर्यात व्यावहारिक रूपमा ठप्प बनेको व्यवसायीहरूको गुनासो छ ।

नयाँ नियमअनुसार अब नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक ट्रक र प्रत्येक खेपको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरिएको छ । परीक्षणका लागि प्रतिट्रक ११ हजार १ सय २० भारतीय रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने रिपोर्ट आउन कम्तीमा ७ देखि १४ दिन लाग्ने व्यवस्था गरिएको छ ।

यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने व्यवस्था थियो। तर अहिले प्रत्येक गाडीको अलग परीक्षण अनिवार्य गरिएपछि व्यवसायीहरू थप चिन्तित बनेका छन् ।

भारतले आयातित चियामा मिसावटको जोखिम बढेको भन्दै संसदीय समितिको सिफारिसअनुसार गुणस्तर परीक्षण कडा बनाएको जनाएको छ । भारतीय चियाको साख जोगाउन, विदेशी चियाको गुणस्तर सुनिश्चित गर्न र उपभोक्ताको स्वास्थ्य सुरक्षा कायम राख्न यस्तो कदम चालिएको टी–बोर्डको भनाइ छ ।

नयाँ व्यवस्थाअनुसार भारत प्रवेश गरेलगत्तै चियाको नमुना राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाइनेछ । प्रयोगशालाबाट ‘क्लियरेन्स सर्टिफिकेट’ नआउन्जेल चिया बजारमा बिक्री गर्न वा पुनः निर्यात गर्न पाइने छैन । परीक्षण अवधिसम्म चिया छुट्टै गोदाममा राख्नुपर्ने प्रावधानले लागत झन् बढाएको व्यवसायीहरू बताउँछन् ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले यो कदमलाई ‘अघोषित नाकाबन्दी’ को संज्ञा दिएका छन् । उनका अनुसार अहिले व्यवसायीहरूले भारततर्फ चिया पठाउनै छाडेका छन् ।

‘निर्यात औपचारिक रूपमा बन्द गरिएको छैन, तर नयाँ नियमले व्यापार असम्भवजस्तै बनाएको छ,’ गुप्ताले भने, ‘हरेक ट्रकको परीक्षण, लामो प्रतीक्षा र उच्च शुल्कका कारण भारतीय क्रेतासमेत पछाडि हट्न थालेका छन् ।’

उनका अनुसार पानीट्यांकी नाकामा चिया बोकेका ट्रक लामो समय रोकिँदा गुणस्तरमा समेत असर पर्ने जोखिम छ । रिपोर्ट फेल भए चिया नष्ट गर्नुपर्ने व्यवस्था भएकाले व्यवसायीहरू थप त्रसित बनेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि भारतको नयाँ नियमले नेपाली चिया उद्योगमा गम्भीर असर परेको स्वीकार गरेको छ । बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यो विषय अब प्राविधिकभन्दा बढी कूटनीतिक बनेको छ ।

‘सरकार–सरकारबीच छलफल गरेर समाधान खोज्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सीमामा गाडी रोकेर परीक्षण गर्ने व्यवस्था व्यावहारिक छैन ।’

व्यवसायीहरूका अनुसार भारतले यसअघि पनि नेपाली चियामाथि विभिन्न बहानामा अवरोध गर्दै आएको छ । कहिले गुणस्तर, कहिले ब्रान्डिङ त कहिले दार्जिलिङ चियासँग प्रतिस्पर्धाको मुद्दा उठाएर गैरभन्सार अवरोध सिर्जना गरिँदै आएको उनीहरूको आरोप छ ।

नेपालको अर्थोडक्स चियाको करिब ९० प्रतिशत र सीटीसी चियाको ५० प्रतिशत बजार भारतमै निर्भर छ । गत आर्थिक वर्षमा नेपालले १ करोड ५५ लाख किलोभन्दा बढी चिया निर्यात गरी ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो ।

हाल देशभर २० हजार हेक्टरभन्दा बढी क्षेत्रमा चिया खेती भइरहेको छ भने करिब ६० हजार मानिस प्रत्यक्ष रूपमा यस व्यवसायमा निर्भर छन् । यस्तो अवस्थामा भारतको नयाँ कडाइले नेपाली चिया उद्योगको भविष्य नै संकटमा पर्ने चिन्ता बढेको छ ।

1

Scroll to Top