द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) जारी गर्न प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ । साथै, कम्पनीलाई सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।
ललितपुरको ग्वार्कोमा रहेको द म्यासिफ होटल ‘रोयल टुलिप काठमाडौं’ नामबाट सञ्चालनमा छ । फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित यो होटल पाँचतारे स्तरको रहेको कम्पनीले जनाएको छ । होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । साथै, साना–ठूला गरी १० वटा बैठक हलसमेत रहेका छन् । कम्पनीका अनुसार यो नेपालकै धेरै कोठा भएको होटलमध्ये एक हो ।
आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा हेल्थ क्लब, स्पा, इन–हाउस रेष्टुरेन्ट तथा अत्याधुनिक सुविधा उपलब्ध छन् । होटलले ग्राहकलाई उच्चस्तरीय सेवा र सुविधामार्फत स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
नबिल इन्भेष्टमेन्टले पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायसँग आईपीओ निष्कासनका लागि अनुमति मागिने जनाएको छ ।


