अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक नयाँ कोर्समा गएको दाबी गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको अर्थ समितिको बैठकमा बजेटका सन्दर्भमा धारणा राख्दै मन्त्री वाग्लेले विगतमा केही सीमित व्यक्तिहरूले राज्यका संयन्त्र र आर्थिक संस्थाहरूलाई आफ्नो स्वार्थ अनुकूल चलाएको अर्थमन्त्री वाग्लेको आरोप छ । यदि जेनजी आन्दोलन नभएको भए नेपाल साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेको उनले दाबी थियो । मन्त्री बाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता खास ५ वटा थिममा ल्याउने बताएका छन् ।
चुनावअघि रास्वपाले जनता सामु गरेको प्रतिवद्धता, वाचापत्रकै स्प्रिडमा बजेटको सिद्धान्त तथा प्राथमिकता ५ वटा थिममा आउने बताए ।
उनले भने, ‘पर्सि बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउँदै गर्दा अहिले नै मैले यसको खास तथ्य अहिले मैले यहाँ खोल्न त्यति उपयुक्त हुँदैन । तर, मोटामोटी वाचापत्रकै स्प्रिडमा हामीले ५ वटा थिममा उच्च प्राथमिकता ल्याउँदैछौँ । त्यसको सैद्धान्तिक जगसमेत लेखेर किन त यहाँ खर्च गर्दैछौँ समेत लेख्नेछौं । बजेटका सन्दर्भमा योयो क्षेत्र र विषयमा सरकार प्राथमिकताका साथ अघि बढ्छ भन्ने कुरा लेख्छौँ । त्यसको मूर्त कार्यक्रम भने बजेटमा अंक (रकम) सहित प्रस्तुत गर्छौं ।’
मुलुकको वर्तमान अवस्था र सुशासनको पक्षमा भएको युवाहरूको हस्तक्षेप (जेनजी आन्दोलन) प्रति आभार प्रकट गर्दै उनले भने, ‘त्यो हस्तक्षेप नभएको भए हामी ठूलो भड्खालोमा जाकिने थियौँ । अब मुलुक नयाँ कोर्समा गएको छ । सुशासनलाई हामीले सबैभन्दा ठूलो प्राथमिकतामा राखेका छौँ ।’
त्यस्तै, मन्त्री वाग्लेले अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरिने बताए । उनले भने, ‘पुँजी बजारसम्बन्धी धेरै रिफर्महरु गरिराखिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचनाका लागि अध्ययन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्छौँ । सरकारको नीति तथा कार्यक्रममा पनि पुँजी बजारबारे उदार नीति घोषणा गरिएको छ । यसलाई बजेटमा हामी थप आकार दिन्छौँ ।’
अब पुँजी बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र सीमित व्यक्तिको कब्जा अन्त्य गरेर बजार थप पारदर्शी बनाउने अर्थमन्त्रीले बताए ।
बैठकमा अर्थमन्त्री भने, ‘विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ । १५ अर्ब १६ अर्बको जनताको पैसाको अपचलन गरेर मार्केट म्याुनुपुलेसन, इन्साइडर ट्रेडिङ गरे अकूत सम्पत्ति जम्मा गरेर, राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेतालाई उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू कब्जामा भए भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा कटु यथार्थ थियो ।’


