चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूको नाफा घटेको पाइएको छ । हालसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । प्रकाशित विवरणअनुसार, कम्पनीहरुको कुल खुद नाफा ५.५५ प्रतिशतले घटेर ४ अर्ब ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
चालु आवको नौ महिनामा १४ कम्पनीमध्ये १० कम्पनीको नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको देखिएको छ । नाफा वृद्धिका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को नाफा सर्वाधिक ३५.७७ प्रतिशतले बढेको छ । एलआईसीको नाफा ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको २३ करोड ६० लाख २२ हजार रुपैयाँभन्दा बढी हो ।
त्यस्तै, सूर्यज्योति लाइफको नाफा ११.६९ प्रतिशतले वृद्धि हुँदा ३३ करोड ३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । एशियन लाइफले ३.७८ प्रतिशतले वृद्धि गर्दै ३४ करोड ७३ लाख ८६ हजार रुपैयाँ, सन नेपाल लाइफले ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार रुपैयाँ, नेशनल लाइफले १.९८ प्रतिशतले बढेर ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.६१ प्रतिशत बढेर २५ करोड ७० लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
चालु आवको तेस्रो त्रैमासिक अवधिसम्ममा रिलायबल नेपाल लाइफको नाफा ०.९९ प्रतिशतले बढेर ४७ करोड ४ लाख १७ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.९४ प्रतिशतले बढेर ३४ करोड ८ लाख ५८ हजार रुपैयाँ, सिटिजन लाइफको ०.६६ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ र आईएमई लाइफको ०.४३ प्रतिशतले बढेर ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
तर, सोही अवधिमा केही कम्पनीको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ७३.९४ प्रतिशतले घटेर ४० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, हिमालयन लाइफको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ, नेपाल लाइफको २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँ र अमेरिकन मेट लाइफको १२.३३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।


