माथिल्लो तामाकोशी हाइड्रोपावरले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार हुँदा कम्पनीको नाफा बढ्न पुगेको हो ।
गत आवको चैत मसान्तसम्ममा विद्युत् बिक्रीबाट ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले चालु आवको सोही अवधिसम्म आइपुग्दा ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी ८०.७२ प्रतिशतले वृद्धि भएको हो ।
साथै, कम्पनीको वित्त आम्दानी १ करोड २३ लाख रुपैयाँ, अन्य आम्दानी ६ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेकोमा कम्पनीको रिटेन्ड अर्निङ भने १२ अर्ब १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९.७६ रुपैयाँ ऋणात्मक रहेकोमा सो अवधिसम्ममा १.३५ रुपैयाँ धनात्मक भएको छ । साथै, प्रतिसेयर नेटवर्थ ४६.६९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८३.९५ रुपैयाँ र तरलता अनुपात १.४१ प्रतिशत रहेको छ ।


