केही समययता नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प भएको छ । नेपालबाट सबै प्रक्रिया पूरा गरेर भारतीय नाका पुगेका तयारी चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा रोकिएपछि चिया उद्योगीहरू चिन्तित भएका छन् ।
भारतीय चिया बोर्डले प्रत्येक गाडीमा रहेको चियाको नमुुना अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ प्रावधान ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गरेपछि नेपालमा उत्पादित चिया निर्यात ठप्प भएको हो । भारतले मे १ देखि यस्तो प्रावधान लागू गरेपछि तयारी चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा वैशाख १४ देखि नै रोकिएको मेची उद्योग वाणिज्य संघ मेचीनगरले जनाएको छ ।
यसअघि एउटा नमुना परीक्षणपछि तीन महिनासम्म वा २० वटा गाडीसम्म चिया निर्यात गर्न पाइने सुविधा रहेको थियो । तर, अब नेपालबाट भारत जाने हरेक चिया बोकेको गाडीको छुट्टाछुट्टै नमुना परीक्षण गर्नुपर्ने व्यवस्था गरिएपछि झापाको काँकडभिट्टा नाकाबाट भारततर्फ गएका चिया बोकेका गाडीहरू रोकिएका हुन् ।
भारतले भारतीय सीमा नजिक कुनै प्रयोगशाला स्थापना नगरेकाले नमुना परीक्षणका लागि कोलकाता पठाउने गरेको र त्यहाँबाट रिपोर्ट आउन कम्तीमा एकदेखि दुई सातासम्म लाग्ने भएकाले चिया निर्यात प्रक्रिया झन्झटिलो बन्न पुगेको छ । लामो समय गाडीमै चिया राख्नु पर्दा चियाको गुणस्तर बिग्रने, लागत बढ्ने सम्भावना उत्तिकै छ ।
नेपालले सीमा नजिकै प्रयोगशाला स्थापना गर्न दशकौँदेखि आग्रह गर्दै आए पनि भारतीय पक्षबाट यसको सुनुवाइ हुन सकेको छैन । यसले गर्दा भारतीय बजार पुग्ने चिया निर्यात पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
त्यसो त, भारतीय बजारमा नेपाली चियाको बलियो उपस्थिति रहेको छ । यसले गर्दा पनि विभिन्न बहानामा अवरोध सिर्जना हुने गरेको सम्बद्धहरु बताउँछन्् ।
भारतको संसदीय समितिको सिफारिसका आधारमा अन्य मुलुकबाट आयात हुने चियाको निगरानी र नियन्त्रण गर्ने नीतिअनुसार भारतले अबदेखि नेपालबाट जाने हरेक चियाको पटकैपिच्छे पूर्ण ल्याब परीक्षण अनिवार्य गरेकाले यसले नेपाली चिया उद्योगी व्यवसायीलाई ठूलो आर्थिक भार र मानसिक तनाव दिएको छ । भारतीय पक्षले थपेका यस्ता सर्त र प्रतिबन्धहरूले नेपालको चिया निर्यातमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ ।
चियामा गुणस्तर परीक्षणको बहानामा कडाइ गरेपछि नेपाली चिया व्यवसाय संकटमा पर्न थालेको नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष सुरेशकुमार अग्रवाल बताउँछन् । उनका अनुसार, नेपाली चियाले पाउँदै आएको प्राथमिकता वा सहुलियतपूर्ण व्यवहारको सट्टा अहिले थप सर्त र कडाइ गरिएकाले निर्यात प्रक्रिया प्रभावित भएको छ ।
निर्यातका लागि लगिएका प्रत्येक ट्रकबाट नमुना संकलन गरी परीक्षण गर्दा यसको नतिजा राम्रो नआएमा सामान फिर्ता गर्नुपर्ने वा खेर जाने जोखिमसमेत उत्तिकै रहेको छ । त्यस्तै, एउटा नमुना परीक्षणका लागि करिब ११ हजार ७५० रुपैयाँ शुल्क बुझाउनुपर्छ । यसबाट थप आर्थिक भारसमेत पर्दछ ।
भारतको यो नयाँ नियमबाट नेपाली चिया व्यवसायीलाई ठूलो आर्थिक भार र तनाव थपिएको छ नै, यसबाट नेपाली चियाको मुख्य अन्तर्राष्ट्रिय बजार नै गुम्ने खतरासमेत बढेको छ ।
हरेक वर्ष सरदर साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याउने चियाको अन्तर्राष्ट्रिय बजार सुरक्षित गर्न सरकारले चाँडै पहल गर्नुपर्ने देखिन्छ । चालु आर्थिक वर्षको चैतसम्ममा कुल निर्यातमा उत्कृष्ट १० वस्तुमध्ये चिया एक हो । यस अवधिसम्ममा नेपाललबाट कुल ४२ अर्ब ५९ करोड ९१ लाख रुपैयाँबराबरको चिया निर्यात भएको तथ्यांक छ । भारतमा मात्रै एक अर्ब दुई करोड ६३ लाख रुपैयाँबराबरको चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा उत्पादन हुने सिटिसी चियाको ५० प्रतिशत बढी हिस्सा र अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारत निर्यात हुने भएकाले सरकारले तत्कालै कूटनीतिक समन्वय गरेर चियाको समस्या समाधानका लागि पहल गर्नु जरुरी छ ।


