वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । आठ बैङ्कले जेठको लागि ब्याजदर घटाएका छन् भने १२ बैङ्कले ब्याजदर स्थिर राखेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैङ्कहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
ब्याजदर समायोजनसँगै बैङ्कहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०७ प्रतिशत घटेर औसत ४.३४ प्रतिशतमा ब्याजदर झरेको छ । जबकि वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४२ प्रतिशत थियो ।
यस्तै, मुद्दती निक्षेपको संस्थागततर्फ औसत ०.०३ प्रतिशत घटेर ३.२० प्रतिशतमा झरेको छ । यसअघि वैशाखमा संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याजदर थियो ।
जेठ महिनाका लागि नेपाल बैङ्क, सिटिजन्स बैङ्क, एनएमबि बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र एनआईसी एशिया बैङ्कले ब्याजदर घटाएका छन् ।
जेठ महिनाका लागि कृषि विकास बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, नेपाल एसबीआई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, ग्लोबल आइएमई बैङ्क, प्राइम बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क, सिद्धार्थ बैङ्क, नबिल बैङ्क, सानिमा बैङ्क र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआईएमबि)ले ब्याजदर स्थिर राखेका छन् ।
बैङ्कहरूले रेमिट्यान्स खातामा भने व्यक्तिगत मुद्दतिमा भन्दा एक प्रतिशत बढी ब्याज दिने गरेका छन् ।
बैङ्कहरूमा तरलता अधिक भएपछि ब्याजदर निरन्तर घटिरहेको छ । हाल बैङ्कहरूसँग करिब १२ खर्बभन्दा धेरै कर्जायोग्य रकम रहेको छ । अहिले बैङ्क तथा वित्तीय संस्थाहरूमा ७९ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप सङ्कलन छ, यसमध्ये ५८ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका छन् ।


