मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्धका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई) ले तेल निर्यातलाई सुरक्षित र सहज बनाउन नयाँ पाइपलाइन परियोजनालाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ। विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा देखिएको जोखिमपछि युएईले वैकल्पिक मार्गको विकासलाई प्राथमिकतामा राखेको हो।
हर्मुज जलमार्ग विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिन्छ। खाडी क्षेत्रका धेरै तेल उत्पादक राष्ट्रहरूले यही मार्ग प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यास निर्यात गर्दै आएका छन्। तर पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्व, आक्रमण तथा सुरक्षा चुनौतीका कारण यो मार्ग असुरक्षित बन्दै गएको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै युएईले फुजैराह बन्दरगाहसम्म पुग्ने पश्चिम–पूर्वी पाइपलाइन परियोजनालाई छिटो सम्पन्न गर्ने तयारी गरेको हो।
अबुधाबी प्रशासनले सार्वजनिक गरेको जानकारीअनुसार यो पाइपलाइनले राज्य स्वामित्वको तेल कम्पनी एडिएनओसी (ब्म्ल्इऋ) को निर्यात क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्नेछ। परियोजना पूरा भएपछि फुजैराहमार्फत तेल ढुवानी गर्ने क्षमता दोब्बर हुने अपेक्षा गरिएको छ। युएई सरकारले अर्को वर्षसम्म यो पाइपलाइन सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
परियोजनालाई शीघ्र अघि बढाउन अबुधाबीका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानले सम्बन्धित निकायलाई विशेष निर्देशन दिएका छन्। हब्शान तेल क्षेत्रदेखि फुजैराहसम्म निर्माण हुने यो पाइपलाइन करिब ३६० किलोमिटर लामो रहनेछ। यसको दैनिक वहन क्षमता लगभग १८ लाख ब्यारेल तेल रहने अनुमान गरिएको छ।
विशेषज्ञहरूका अनुसार यो पाइपलाइन सञ्चालनमा आएपछि युएईले हर्मुज जलमार्गमा निर्भरता कम गर्न सक्नेछ। यदि युद्ध वा राजनीतिक तनावका कारण समुद्री मार्ग बन्द भए पनि तेल निर्यात निरन्तर राख्न पाइपलाइन उपयोगी हुने विश्वास गरिएको छ। यसले युएईको ऊर्जा सुरक्षालाई बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति स्थिर राख्न पनि मद्दत पुर्याउनेछ।
युएईले पछिल्ला महिनाहरूमा तेल उत्पादन क्षमता विस्तार गर्ने योजनालाई पनि तीव्र बनाएको छ। यसअघि तेल उत्पादन नियन्त्रणसम्बन्धी नियम उल्लङ्घन गर्दै उत्पादन बढाएको भन्दै आलोचना भएको थियो। तर युएईले आगामी वर्षसम्म दैनिक उत्पादन क्षमता ५० लाख ब्यारेलसम्म पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ।
यद्यपि फुजैराह क्षेत्र आफैं पनि पूर्ण रूपमा सुरक्षित भने छैन। मध्यपूर्वमा युद्ध चर्किँदा त्यहाँका इन्धन भण्डारण तथा प्रशोधन केन्द्रहरूमा पटक–पटक आक्रमण हुने गरेका छन्। यसै महिनाको सुरुवातमा भएको एक आक्रमणमा तीन भारतीय नागरिक घाइते भएका थिए। त्यस घटनापछि युएईले ऊर्जा पूर्वाधारको सुरक्षामा थप सतर्कता अपनाएको छ।
विश्लेषकहरूले युएईको यो कदमलाई दीर्घकालीन ऊर्जा रणनीतिको महत्वपूर्ण हिस्सा मानेका छन्। विश्व बजारमा तेलको माग स्थिर रहिरहेकाले सुरक्षित आपूर्ति प्रणाली निर्माण गर्नु अहिले खाडी मुलुकहरूका लागि अत्यावश्यक विषय बनेको छ। नयाँ पाइपलाइन परियोजनाले युएईलाई आर्थिक रूपमा अझ बलियो बनाउने र विश्व ऊर्जा व्यापारमा उसको प्रभाव थप विस्तार गर्ने अपेक्षा गरिएको छ।


