Banijya News

वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, कुनमा कति ?

1
1.0K Shares

खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ । बैंकहरुमा अधिक तरलता रहेको छ भने नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय अवस्थामा दबाब बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक) हरुमा ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३६ अर्ब ४१ करोड १४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा २०.०४ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको हो ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ७ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १२ वटाको बढेको छ । वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सिलय बैंक र एनएमबि बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै दरले बढेको छ । तर, ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन् ।

चालु आर्थिक वर्षको चैतसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको देखिएको छ । हिमालयनमा ६ अर्ब ८ करोड १२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १८.२३ प्रतिशतले बढेको हो ।

यसैगरी, दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंक र तेस्रो प्राइम कमर्सियल बैंकमा रहेको छ । समीक्षा अवधिसम्म ग्लोबल आइएमईमा ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र प्राइममा ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति ग्लोबलले १.२७ प्रतिशतले घटाएको छ । यो अवधिमा प्राइम कमर्सियलको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै १०९.३५ प्रतिशतले बढेको छ ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ । समीक्षा अवधिसम्म यो बैंकमा २३ करोड ३६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले बढेको देखिन्छ ।

1

Scroll to Top