Banijya News

घरजग्गा कारोबार बढ्यो, वैशाखमा उठ्यो छ अर्ब २६ करोड राजस्व

1
1.0K Shares

घरजग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गएको पछिल्लो कारोबार र राजस्व संकलनको विवरणले देखाएको छ । वैशाख महिनामा मात्र कूल छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

गत चैतमा घर जग्गा कारोबारबाट कूल छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ रुपैयाँ राजस्व संकलन भएको थियो । चैतको तुलनामा वैशाखमा राजस्व संकलनमा वृद्धि भएकाले घरजग्गा कारोबारमा वृद्धि भएको पाइएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार चार सय दुई रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७ रुपैयाँ, पूँजीगत लाभकरबाट दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ रुपैयाँ संकलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट चार करोड ४८ लाख ७८ हजार तीन सय १८ रुपैयाँ संकलन भएको छ ।

यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१ रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ रुपैयाँ जम्मा भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ रुपैयाँ जम्मा भएको थियो । मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट चार करोड ६२ लाख ९९ हजार सात सय ८० रूपैयाँ बराबरको रकम संकलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । यसअघि माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ रुपैयाँ बराबरको राजस्व उठेको थियो ।

1

Scroll to Top