सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
साथै, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ । अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ रहेको सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा जेठ २८ गते हुनेछ ।
कम्पनीले सञ्चालन गरेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत् आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ३ महिना बाँकी रहेको छ । उक्त आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


