Banijya News

तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो

1
1.0K Shares

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा भएको अवरोध अन्ततः खुलेको छ । विगत तीन सातादेखि नेपालबाट भारततर्फ चिया निकासी ठप्प भएको थियो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको हो ।

टी बोर्डले मंगलबार राति जारी गरेको संशोधित सूचना (कोरिजेन्डम–२) मार्फत पुरानो व्यवस्था परिमार्जन गरेपछि बुधबारदेखि नेपालबाट भारततर्फ चिया निकासी पूर्ववत् रूपमा सञ्चालन हुने बाटो खुलेको छ । यससँगै लामो समयदेखि रोकिएको व्यापारिक गतिविधि पुनः सामान्य अवस्थामा फर्किने व्यवसायीहरूले बताएका छन् ।

भारतले मे १ देखि यस्तो प्रावधान लागू गरेपछि तयारी चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा वैशाख १४ देखि नै रोकिएका थिए ।

अहिलेको समस्या समाधानमा नेपाल सरकारको कूटनीतिक पहल महत्वपूर्ण रहेको बताइएको छ । परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दूतावासको निरन्तर संवादपछि भारत सरकार सकारात्मक बनेको हो ।

संशोधित व्यवस्थाअनुसार अब भारतको आन्तरिक बजारमा उपभोग हुने चिया र पुनः निर्यात (रि–एक्सपोर्ट) हुने चियाका लागि अलग–अलग परीक्षण प्रणाली लागू हुने भएको छ । आन्तरिक बजारका लागि जाने चियामा टी बोर्डको अनिवार्य परीक्षण हटाइएको छ ।
यद्यपि भन्सार कार्यालय वा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले आवश्यक परे जोखिमका आधारमा छड्के नमूना परीक्षण गर्न सक्ने व्यवस्था भने कायम छ ।

अब नेपालबाट भारतको आन्तरिक बजारका लागि जाने चिया बोकेका ट्रकहरू नाकामा रोकेर अनिवार्य रूपमा परीक्षण गरिरहनुपर्ने बाध्यता हटेको छ ।

यसअघि एउटा नमुना परीक्षणपछि तीन महिनासम्म वा २० वटा गाडीसम्म चिया निर्यात गर्न पाइने सुविधा रहेको थियो । तर, नेपालबाट भारत जाने हरेक चिया बोकेको गाडीको छुट्टाछुट्टै नमुना परीक्षण गर्नुपर्ने व्यवस्था गरिएपछि झापाको काँकडभिट्टा नाकाबाट भारततर्फ गएका चिया बोकेका गाडीहरू रोकिएका थिए ।

भारतले भारतीय सीमा नजिक कुनै प्रयोगशाला स्थापना नगरेकाले नमुना परीक्षणका लागि कोलकाता पठाउने गरेको र त्यहाँबाट रिपोर्ट आउन कम्तीमा एकदेखि दुई सातासम्म लाग्ने भएकाले चिया निर्यात प्रक्रिया झन्झटिलो बन्न पुगेको थियो । लामो समय गाडीमै चिया राख्नु पर्दा चियाको गुणस्तर बिग्रने, लागत बढ्ने सम्भावना उत्तिकै थियो ।

व्यवसायीहरूले यसलाई ठूलो राहतको रूपमा लिएका छन् । यही प्रावधानका कारण निर्यात प्रक्रियामा ढिलाइ र लागत वृद्धि भएको थियो ।
तर, भारतमा आयात भई तेस्रो मुलुकमा पुनः निर्यात हुने चियाका लागि भने कडा परीक्षण नियम कायमै राखिएको छ । यस्ता कन्साइनमेन्टहरू टी बोर्डको १० फेब्रुअरी २०२६ मा जारी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) अनुसार अनिवार्य परीक्षण प्रक्रियामा पर्नेछन् । त्यसैगरी, परीक्षण प्रतिवेदन तयार हुने समय पनि घटाइएको छ ।

पहिले ल्याब परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने व्यवस्था थियो भने अब सम्बन्धित प्रयोगशालाले नमूना प्राप्त गरेको मितिबाट अधिकतम ५ दिनभित्र अनलाइन रिपोर्ट अपलोड गर्नुपर्नेछ । यसलाई व्यापार सहजीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
भारतले केही समयअघि लागू गरेको नयाँ एसओपीका कारण प्रत्येक ट्रकमा नमूना परीक्षण शुल्क तिर्नुपर्ने र लामो समयसम्म रिपोर्ट कुर्नुपर्ने व्यवस्था बनेपछि नेपालबाट चिया निर्यात पूर्ण रूपमा ठप्प भएको थियो । यही कारण नेपाली चिया उद्योग गम्भीर दबाबमा परेको थियो ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार हालको निर्णयले तत्कालका लागि निर्यात अवरोध हटेको छ । उनले भारतले अनिवार्य परीक्षण व्यवस्था फिर्ता लिएपछि उद्योगी, किसान र व्यवसायी सबैलाई राहत मिलेको बताए । यद्यपि यो व्यवस्था स्थायी रूपमा हटेको हो वा अस्थायी मात्र भन्ने विषय अझै स्पष्ट भएको छैन ।

त्यस्तै, नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले पनि भारतको पछिल्लो निर्णयले तात्कालीन समस्या समाधान भएको बताएका छन् । उनका अनुसार लामो समयको अवरोधपछि निर्यात खुल्दा चिया उद्योगमा सकारात्मक वातावरण बनेको छ ।

भारतले यसअघि लागू गरेको कडा परीक्षण नियमअनुसार प्रत्येक ट्रकमा ११ हजार १२० भारतीय रुपैयाँ शुल्क तिरेर नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन करिब दुई साता कुर्नुपर्ने व्यवस्था थियो । यही प्रावधानका कारण चिया निर्यात रोकिएको थियो ।

भन्सार विभागका तथ्यांकअनुसार चिया नेपालको प्रमुख निर्यात वस्तुमध्ये एक हो । हरेक वर्ष सरदर साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा चियाबाट नै भित्रिने गर्दछ ।

गत आर्थिक वर्षमा मात्रै नेपालबाट भारततर्फ करिब ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको निर्यात भइसकेको छ । नेपालमा उत्पादन हुने सिटिसी चियाको ५० प्रतिशत बढी हिस्सा र अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारत निर्यात हुने गर्दछ । निर्यात अवरोध हटेसँगै व्यवसायीहरूले अब चिया व्यापार पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन् ।

1

Scroll to Top