सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीतिगत व्यवस्था गरेसँगै नेपाल आयल निगमले यसको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ । यसका लागि निगमले स्वदेशी उत्पादकहरूलाई तोकिएको गुणस्तर अनुसारको इथानोल आपूर्ति गर्न आह्वान गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २०८२ फागुन २८ गते राजपत्रमा पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेशमा उल्लेख भए बमोजिमको गुणस्तर र विधि अनुसारको इथानोल खरिद गर्ने तयारी निगमले गरेको छ ।
यस प्रक्रियामा सहभागी हुन इच्छुक स्वदेशी उत्पादकहरूले निगममा निवेदन दर्ता गराउन सक्नेछन् । इथानोल उत्पादनका लागि विभिन्न प्रकारका कच्चा पदार्थहरू प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ, जसमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ वा बायोमास रहेका छन् ।
त्यसैगरी, पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेषका साथै खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न र सिमल तरुललाई पनि कच्चा पदार्थको रूपमा उपयोग गर्न पाइनेछ ।
इथानोल उत्पादन प्रक्रियामा मर्चा (यिस्ट) र अन्य आवश्यक रसायनहरूको समेत प्रयोग गर्न सकिने जनाइएको छ । यद्यपि, निगमले इथानोल उत्पादनका लागि कच्चा पदार्थको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने सर्त राखेको छ ।
मानिसले खाद्यान्नको रूपमा प्रयोग गर्ने योग्य अन्नलाई भने इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।


