यशोदा फूड्स प्रालिले उत्पादन गर्दै आएको ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा गुणस्तरीय समस्या भेटिएपछि सरकारले बजारबाट फिर्ता गर्न कडा निर्देशन जारी गर्यो । सरकारी प्रयोगशालाबाट उत्पादन गुणस्तरहीन पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फिर्ता (रिकल) गर्न आदेश जारी गरेको हो ।
तर, सरकारले कारबाही गरे पनि रुपन्देहीस्थित उद्योगले भने आफ्नो कमजोरी स्वीकार नगरी गर्मी, भण्डारण र पसलमा घाम लाग्ने जस्ता तर्क गर्दै विज्ञप्तिमार्फत बचाउ गर्ने प्रयास गरेको छ । यसबाट उद्योगले लामो समययता जनस्वास्थ्यसँग खेलबाड गर्दै आएको त थिएन ? भन्ने सवाल उब्जाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेका दुई फरक आदेशअनुसार यशोदा फूड्सका ‘लाली’ र ‘करेन्ट’ दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डविपरीत पाइएका हुन् ।
विभागका अनुसार ‘लाली’ चाउचाउ (५० ग्राम), ब्याच नम्बर ०२ए मा ‘एक्स्ट्रयाक्टेड प्याकेटको एसिड भ्यालु’ सरकारले तोकेको मापदण्डअनुसार नपाइएको छ । यस्तै ‘करेन्ट’ नुडल्स (१०० ग्राम), ब्याच नम्बर ०४ए मा पनि उस्तै समस्या भेटिएको विभागको परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
यी दुवै उत्पादन यशोदा फूड्स प्रालि, तिलोत्तमा–१५ रुपन्देहीले उत्पादन गरेको हो । विभागले तत्काल बजारबाट ती उत्पादन फिर्ता गर्न, बिक्रीवितरण रोक्न र उपभोक्तालाई प्रयोग नगर्न निर्देशन दिएको छ ।
सरकारी कारबाही सार्वजनिक भएपछि यशोदा फूड्सले ‘जनहितमा जारी सन्देश’ शीर्षकमा विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गर्ने प्रयास गरेको छ । विज्ञप्तिमा उद्योगले आफूले रोजगारी सिर्जना गरेको, नेपालबाट विदेशसम्म निर्यात गरिरहेको र गर्मीयाममा पसल तथा गोदाममा चर्को घाम लाग्दा गुणस्तरमा असर पर्न सक्ने दाबी गरेको छ । उद्योगले विक्रेतालाई ‘घाम नपर्ने ठाउँमा राख्न’ सुझाव दिँदै उपभोक्तालाई उत्पादन मिति र म्याद हेरेर मात्र प्रयोग गर्न आग्रह समेत गरेको छ ।
तर, खाद्य गुणस्तरसम्बन्धी जानकारहरूका अनुसार यस्तो तर्कले उद्योगको जिम्मेवारी झन् कमजोर बनाएको छ । विशेषज्ञहरूका अनुसार खाद्य उद्योगले बजारको सामान्य वातावरणलाई ध्यानमै राखेर उत्पादन गर्नुपर्ने हुन्छ । नेपालजस्तो देशमा गर्मी हुनु अस्वाभाविक नभएकाले ‘घाम लाग्यो’ भन्ने तर्क गरेर उद्योग जिम्मेवारीबाट उम्किन नसक्ने उनीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्ता उत्पादन बालबालिका र युवापुस्ताले अत्यधिक खाने भएकाले यसको असर अझ गम्भीर हुन सक्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय बजार अनुगमन कडा बनाइएको जनाएको छ । विभागका अधिकारीहरूका अनुसार जनस्वास्थ्यमा जोखिम देखिने उत्पादनमाथि आगामी दिनमा अझ कठोर कारबाही गरिनेछ ।


