Banijya News

नेपालमा थपियो अर्को राइड सेयरिङ सेवा ‘उबर’

1
1.0K Shares

अमेरिकी राइड–हेलिङ प्लेटफर्म उबरले नेपाली बजारमा आफ्नो सेवा अनौपचारिक रूपमा सुरु गरेको छ । बुधबारदेखि ‘टेस्ट लन्च’ गरी काठमाडौं उपत्यकामा उबरले आफ्नो राइड सेयरिङ सेवा सुरु गरेको हो ।

यससँगै अब यात्रुहरूले उपत्यकाका विभिन्न गन्तव्यका लागि उबर एपमार्फत राइड बुक गर्न सक्ने सुविधा उपलब्ध भएको छ । उबरले केही दिनदेखि नै बाइक राइडर, कार तथा ट्याक्सी चालक र यात्रुहरूको रजिस्ट्रेसन कार्यलाई तीव्रता दिएको थियो ।

नेपालमा आफ्नो सेवालाई प्रभावकारी बनाउन उबरले स्थानीय राइड–हेलिङ कम्पनी ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । ट्याक्सीमाण्डुसँगको साझेदारीसँगै नेपालमा सेवा सञ्चालनमा आएको औपचारिक घोषणा अबको केही दिनमा हुने बताइएको छ ।

दुई कम्पनीबीचको सम्झौता अनुसार उबरले आफ्नो विश्वव्यापी रूपमा स्थापित प्रविधि र एप उपलब्ध गराउनेछ भने नेपालभित्रको व्यवस्थापन, चालक अनबोर्डिङ र सञ्चालनको जिम्मा ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।

काठमाडौंमा यसअघि नै पठाओ, इनड्राइभ र याङ्गो जस्ता प्लेटफर्महरूले बलियो पकड जमाएका छन् । यात्रुहरूलाई आकर्षित गर्न उबरले आफ्नो एपको इन्बक्समा ३० रुपैयाँ र १५ रुपैयाँको छुट समेत अफर गरेको छ ।

विशेषगरी नेपाल आउने वैदेशिक पर्यटकहरू, जो पहिलेदेखि नै उबरको सेवामा अभ्यस्त छन्, उनीहरूका लागि यो सेवाले यात्रा थप सहज बनाउने विश्वास गरिएको छ ।

सन् २००९ मा स्थापना भएको उबरले हाल विश्वका ७० भन्दा बढी देशका १० हजार बढी सहरमा सेवा दिइरहेको छ ।

1

Scroll to Top