जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको कालंगा हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४९ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृत गरिएको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाछुट्टै शेयर निष्काशन गरिसकेको छ।
कालंगा हाइड्रोले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १४ लाख कित्ता शेयर बाँडफाँड गरिसकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ३ लाख ५० हजार कित्ता आईपीओ पनि निष्काशन सम्पन्न भइसकेको जनाएको छ। अब बाँकी रहेको शेयरमध्ये केही हिस्सा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि सुरक्षित राखी बाँकी शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि १ लाख ७५ हजार कित्ता तथा कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ५ हजार कित्ता शेयर सुरक्षित गरिएको छ। यी सबै छुट्याएपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले “मेरो शेयर” प्रणालीमार्फत वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले सर्वसाधारणलाई समयमै आवेदन दिन आग्रह गरेको छ।
कालंगा हाइड्रोले जारी गरेको सूचनाअनुसार आईपीओमा आवेदन दिने प्रारम्भिक अन्तिम मिति जेठ १३ गते तोकिएको छ। तर सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने जनाइएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।
नेपालको पूँजी बजारमा पछिल्लो समय जलविद्युत् कम्पनीहरूको आईपीओप्रति लगानीकर्ताको आकर्षण बढ्दो देखिएको छ। विशेषगरी सर्वसाधारण लगानीकर्ताले साना लगानीबाट शेयर बजारमा प्रवेश गर्ने अवसरका रूपमा जलविद्युत् कम्पनीहरूको आईपीओलाई महत्व दिने गरेका छन्। यही कारण कालंगा हाइड्रोको आईपीओमा पनि उल्लेखनीय आवेदन पर्ने अपेक्षा गरिएको छ।
शेयर बजार विश्लेषकहरूका अनुसार ऊर्जा क्षेत्रमा सरकारले प्राथमिकता दिइरहेको र विद्युत् उत्पादन तथा निर्यातको सम्भावना बढ्दै गएकाले जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताको चासो निरन्तर बढिरहेको छ। यद्यपि, लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, परियोजनाको प्रगति तथा दीर्घकालीन सम्भावनाबारे अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्।
कालंगा हाइड्रोले आईपीओ निष्काशनबाट संकलन हुने रकम आयोजना विस्तार, ऋण व्यवस्थापन तथा उत्पादन क्षमता सुदृढीकरणमा उपयोग गर्ने जनाएको छ। कम्पनीले भविष्यमा थप ऊर्जा उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पु¥याउने लक्ष्य राखेको बताएको छ।


