पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई भ्रामक, कपोलकल्पित र चरित्रहत्या गर्ने उद्देश्यले तयार गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दर्ता गराएका छन्।
‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै गुरुङले उक्त सामग्री पूर्ण रूपमा झुटा रहेको दाबी गरेका छन्। उनले आफू पारिवारिक भ्रमणका क्रममा रिसोर्ट गएको विषयलाई तोडमरोड गरेर प्रस्तुत गरिएको र यसबाट आफ्नो व्यक्तिगत तथा राजनीतिक प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको बताएका छन्।
गुरुङका अनुसार समाचारमा उल्लेख गरिएका तथ्यहरू आधारहीन छन् र त्यसले आम नागरिकमा भ्रम सिर्जना गरेको छ। “म पारिवारिक वातावरणमा गएको साधारण भ्रमणलाई अनावश्यक रूपमा सनसनीपूर्ण बनाइएको छ,” उनले भने, “यो नियोजित रूपमा गरिएको चरित्रहत्या हो।” उनले समाचार लेख्ने पत्रकार दिनेश थापा तथा सम्बन्धित सञ्चारमाध्यममाथि तत्काल छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
केही समयअघि आर्थिक विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङले पछिल्लो घटनालाई ‘मिडिया ट्रायल’ को रूपमा व्याख्या गरेका छन्। उनले आफूलाई बदनाम गर्न योजनाबद्ध रूपमा गलत सूचना फैलाइएको आरोप लगाउँदै निष्पक्ष छानबिनको अपेक्षा गरेका छन्।
उजुरी दर्ता भएपछि प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। काउन्सिलका अनुसार उजुरीमा उठाइएका विषयवस्तुहरूबारे सम्बन्धित पक्षसँग स्पष्टिकरण लिने, प्रमाण संकलन गर्ने र त्यसका आधारमा निर्णय गर्ने प्रक्रिया अवलम्बन गरिनेछ।


