नेपालमा विद्युतीय सवारी साधन (इभी) को आयात तीव्र रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा कुल १६ हजार ३९२ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्।
विभागले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा चीन र भारतका विभिन्न नाकामार्फत ठूलो संख्यामा इभी आयात भएको हो। विशेषगरी तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात उच्च देखिएको छ। उक्त अवधिमा मात्रै ७ हजार ७८५ थान तीन पाङ्ग्रे इभी नेपाल भित्रिएका छन्, जसले साना तथा मध्यम दूरीका यातायातमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको संकेत गर्छ।
त्यस्तै, ५० किलोवाट क्षमतासम्मका एसेम्बल हुन बाँकी २ थान सवारी आयात भएका छन् भने सोही क्षमताभित्रका कार, जीप र भ्यान गरी २ हजार ८४८ थान इभी आयात भएका छन्। ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका सवारी भने सबैभन्दा धेरै आयात भएका छन्, जसको संख्या ५ हजार २५ पुगेको छ।
यसैगरी, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ७२३ थान र २०१ किलोवाटभन्दा माथिका ९ थान विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकले देखाएको छ। उच्च क्षमताका सवारीको आयात तुलनात्मक रूपमा कम भए पनि क्रमशः वृद्धि भइरहेको देखिन्छ।
इभी आयातका लागि मात्रै २१ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। यसमध्ये सबैभन्दा बढी खर्च ५१ देखि १०० किलोवाट क्षमताका सवारीमा भएको छ, जसमा मात्रै १३ अर्ब २ करोड रुपैयाँ खर्चिएको छ। त्यस्तै, ५० किलोवाटसम्मका सवारी आयातमा ५ अर्ब रुपैयाँ र १०१ देखि २०० किलोवाट क्षमताका सवारीमा २ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ।
यद्यपि, इभी आयातबाट सरकारले उल्लेखनीय राजश्व संकलन पनि गरेको छ। विभागका अनुसार विद्युतीय कार, जीप र भ्यान आयातबाट मात्रै १२ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन भएको छ।
विशेषज्ञहरूका अनुसार इन्धनमा निर्भरता घटाउने र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नेपालमा इभीको प्रयोग बढ्दै गएको हो। सरकारी नीतिगत सहुलियत, कर छुट तथा चार्जिङ पूर्वाधार विस्तारका कारण पनि इभीप्रति उपभोक्ताको आकर्षण बढिरहेको छ। आगामी दिनमा अझ सहज नीतिगत व्यवस्था र पूर्वाधार विस्तार हुन सकेमा नेपालमा विद्युतीय सवारीको प्रयोग झन् तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।


