आर्थिक वर्ष २०८३ /८४ को बजेट आउनै लाग्दा शेयर बजारमा हरियाली देखिन थालेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ७५ हजार ८५६ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँबराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक १०.३२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।


