Banijya News

विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न शिक्षक महासंघको माग

1
1.3K Shares

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न सरकारसँग माग गरेको छ । महासंघले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन, शिक्षक–कर्मचारीको तलब वृद्धि, महँगी भत्ता उपलब्ध गराउन तथा अस्थायी शिक्षकको म्याद थपको व्यवस्था गर्न आग्रह गरेको छ ।

साथै, विद्यालय शिक्षालाई साझा सूचीमा राखी संघ, प्रदेश र स्थानीय तहबीचको विवाद अन्त्य गर्न तथा शिक्षकमाथि हुने हिंसा र अपमान रोक्न अविलम्ब पहल गर्न सरकारसँग माग गरिएको छ ।

महासंघका मागहरु
१. नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच भएका विगतका सबै सहमति सम्बोधन गर्ने अग्रगामी विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गरियोस् ।

२. यस आर्थिक वर्षबाट शिक्षा क्षेत्रका लागि कुल बजेटको २०% रकम विनियोजन गरियोस् ।

३. मिति २०८२ वैशाख १७ गते नेपाल सरकार, मन्त्री परिषद्बाट निर्णय भएका नौ(९) बुँदा अविलम्ब कार्यान्वयन गरियोस् ।

४. नेपाल शिक्षक महासंघ एउटा जिम्मेवार संस्थाको रूपमा विद्यालय शिक्षकको विकास र शिक्षक–कर्मचारीको पेसागत उन्नयनका सवालमा सरकार र शिक्षासँग सम्बन्धित राज्यका सबै निकायसँग सकारात्मक सहकार्य गर्दै आएको छ । यो सहकार्य जति बढी र सघन हुन्छ, त्यसले विद्यालय शिक्षा विकास र शिक्षण पेसाको मर्यादा र आकर्षण वृद्धिमा उति नै राम्रो प्रभाव पार्दछ । यसर्थ ने.शि. महासंघ २०८३ वैशाख २० गते भएको शिक्षा ऐनको केही बुँदाको संशोधनबाट महासंघको प्रतिनिधित्वमा गरिएको संकुचनप्रति विमति राख्दै विद्यालय शिक्षा ऐनको प्रतिनिधित्वलाई यथावत् राख्न तथा प्रतिनिधित्व नभएका स्थानमा समेत प्रतिनिधित्व थप गर्न गराउन माग गर्दछ ।

५. यही आर्थिक वर्षबाट प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तहगत दरबन्दी तोकी सोअनुसार तलबभत्ता उपलब्ध गराइयोस् ।

६. नयाँ शिक्षा ऐन र नियमावली जारी भई नयाँ प्रक्रिया आरम्भ नभएसम्म विगतमा जस्तै गरी खाले अस्थायी प्रकृतिका शिक्षकको स्वतः म्याद थप(नवीकरण) हुने व्यवस्था गरियोस् ।

७. नेपाल सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेर गर्ने कार्य अगाडि सारेको छ । त्यसैले संविधान संशोधन हुँदा विद्यालय तहको शिक्षालाई संविधानको अनुसूची–८ बाट झिकेर अनुसूची–९ मा राख्ने व्यवस्था गरियोस् । विद्यालय शिक्षालाई साझा सूचीमा समावेश गरी स्पष्ट अधिकारको बाँडफाँड हुँदा संघ र प्रदेश सरकार तथा स्थानीय तहकाबिच विवाद र अलमलको अवस्थाको अन्त्य गरियोस् ।

८. विगतका सहमतिबमोजिम संस्थागत(निजी) विद्यालयका शिक्षक–कर्मचारीको सेवा, सुविधा र सुरक्षाको प्रबन्ध गरियोस् ।

९. विद्यालय प्रधानाध्यापकको भत्ता सम्बन्धित प्रधानाध्यापकको तह र श्रेणीको आधारभूत तलबको १५% कायम गरियोस् ।

१०. यही आर्थिक वर्षबाट शिक्षण सिकाइ अनुदान, प्रारम्भिक बाल कक्षा शिक्षक र विद्यालय कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराइयोस् ।

११. धेरै वर्षदेखि शिक्षक–कर्मचारीको तलब वृद्धि भएको छैन । त्यसैले यो आर्थिक वर्षबाट बढ्दो महँगीलाई दृष्टिगत गरी एथेष्ट तलब वृद्धि गरियोस् ।

१२. देशका विभिन्न भागमा प्रधानाध्यापक तथा शिक्षक माथि विभिन्न किसिमबाट हिंसा र अपमान हुन थालेको छ । यस्ता क्रियाकलाप रोक्न अविलम्ब पहलकदमि लिइयोस् ।

1

Scroll to Top