सुर्तीजन्य पदार्थलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत कर लाग्दै आएको छ । त्यसैले, उनीहरूले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरेका छन् । सुर्तीजन्य पदार्थबाट वार्षिक ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन् ।
उनीहरूले सुर्तीजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका ८ लाख युवा विद्यार्थी सुर्तीजन्य पदार्थको लतमा फसेको दृष्टान्त सुनाए । सांसदहरूले सुर्तीजन्य पदार्थमाथि भारतमा ५८ र बंगलादेशमा ७३ प्रतिशत कर लिने गरेको जानकारी दिए ।
सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा हजारौंको ज्यान जाने गरेको छ । त्यसैले, आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरिएको हो । सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गर्नुको उद्देश्य त्यसको प्रयोगमा न्यूनीकरण ल्याउनु हो ।


