Banijya News

इजरायलमा २ हजार ३ सय केयरगिभर माग, कहिलेसम्म दिने आवेदन ?

1
1.0K Shares

वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको हो।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला (१३८० जना) र ४० प्रतिशत पुरुष (९२० जना) कोटा छुट्याइएको छ । छनोट भएका नेपाली नागरिकहरूले इजरायलका विभिन्न समूहगत आवास वा व्यक्तिगत अपार्टमेन्टहरूमा रहेका वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहमा सहयोग गर्नुपर्नेछ। छनोट भएका कामदारले इजरायलमा मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) बराबर तलब पाउने उल्लेख छ । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।  सुरुको करार अवधि एक वर्षको हुने र यसलाई अधिकतम ५ वर्षसम्म थप गर्न सकिने व्यवस्था छ।

विभागका अनुसार इच्छुक र योग्य उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टल ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन फाराम विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध छ । आवेदन दिने म्याद आजदेखि २१ दिनसम्म अर्थात् २०८३ असार ७ गतेसम्म तोकिएको छ। आवेदन दिँदा अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्थासम्बन्धी कागजात तथा स्वघोषणा पत्रसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइने विभागले स्पष्ट पारेको छ ।

इजरायल जानुपर्ने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्कलगायत शीर्षकमा निश्चित खर्च व्यहोर्नुपर्नेछ । विभागले तोकेको विवरणअनुसार विभिन्न शुल्क र प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिक इजरायल जान पाउनेछन् ।

1

Scroll to Top