Banijya News

स्वास्थ्य बीमा सेवा कटौतीः निजी अस्पतालमा अब आकस्मिक सेवा मात्र पाइने

1
1.0K Shares

सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ । बोर्डको ११ जेठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको भन्दै बोर्डले यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।

बीमा बोर्डको यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ । आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ ।

बीमा बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । बढ्दो वित्तीय संकटका कारण यो निर्णय लिएको जनाएको छ ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ । वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रकम भुक्तानी रोकिँदै आएको र त्यसकै दबाबमा अन्ततः बोर्ड सेवा कटौती गर्न बाध्य भएको बताइएको छ ।स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई राजनीतिक प्रचारको साधन बनायो, तर वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपनतर्फ गम्भीर ध्यान दिएन । परिणामस्वरूप अहिले स्वास्थ्य बीमा कार्यक्रमको अस्तित्व नै संकटमा पुगेको छ ।

निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । कतिपय निजी अस्पतालहरुले यसअघि नै स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा उपलब्ध गराउन नसक्ने बताउँदै आएका थिए । कतिपय सरकारी अस्पतालहरूले नै बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको सेवा बन्द गरिसकेका छन् । अहिले बोर्ड आफैँले सेवा स्थगनको निर्णय गरेपछि बीमा कार्यक्रम व्यवहारतः संकुचित हुन पुगेको छ ।

1

Scroll to Top