आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज बुधबार भने सामान्य अंक बढेर बन्द भएको हो ।
यस दिन नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ ।
कारोबारमा आएको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।


