Banijya News

कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

1
1.0K Shares

कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक दलहरुबीच भीडन्तको स्थिति बन्न पुगेको छ । सदन चलिरहेको बेला बुधबार तनाव चर्किँदै गएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच तीव्र विवाद चर्किएपछि बैठक तनावग्रस्त बनेको हो ।

प्रदेश सभा बैठकको कार्यसूचीअनुसार विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर, सभामुख अम्बरबहादुर विष्टले संशोधन प्रस्तावमाथि छलफलका लागि पर्याप्त समय नदिई नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेपछि विपक्षी सांसदहरू आक्रोशित बनेका हुन् ।

विपक्षी दलहरूले आफूहरूको संसदीय अधिकार खोसिएको आरोप लगाउँदै सदनमै चर्को नाराबाजी गरेका थिए । उनीहरूले संसदीय प्रक्रिया मिचेर सरकारले बलजफ्ती रूपमा नीति तथा कार्यक्रम पारित गराएको दाबी गरेका छन् ।

स्थिति थप तनावपूर्ण बनेपछि पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई रोस्टमतर्फ अघि बढेका थिए । उनले रोस्टम कब्जा गर्न खोजेपछि सत्ता र प्रतिपक्षी सांसदबीच धकेलाधकेल र होहल्लाको अवस्था सिर्जना भएको थियो ।

विपक्षी सांसदहरूले संशोधन प्रस्ताव पेश गर्न पाउनु संसदीय अभ्यासको आधारभूत अधिकार भएको दाबी गरेका छन् । उनीहरूले नीति तथा कार्यक्रममाथि असहमति राख्ने अवसर नदिइनु लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।

सत्ता पक्षीय सांसदहरूले भने कार्य व्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार नै प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् । विपक्षी दलले सहमतिबाट पछि हटेर अनावश्यक अवरोध सिर्जना गरेको सत्तापक्षको तर्क छ ।

कोशी प्रदेश सभामा पछिल्ला दिनमा नीति तथा कार्यक्रम, बजेट तयारी र संसदीय प्रक्रियालाई लिएर सत्ता–प्रतिपक्षबीचको अविश्वास बढ्दै गएको देखिएको छ ।

1

Scroll to Top