सरकारले सहरी क्षेत्रको अव्यवस्थित बढ्दो चापलाई सम्बोधन गर्न ‘भिजन काठमाडौँ–२०४०’ नामक दीर्घकालीन एकीकृत योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै काठमाडौँ उपत्यकालाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्न यो योजना अघि सारिएको बताएका हुन् । यस योजनाअन्तर्गत उपत्यकामा विद्युतीय सार्वजनिक बसहरूको सञ्चालन गर्दै ‘स्मार्ट अर्बन मोबिलिटी’ को अवधारणा कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।
त्यस्तै, सरकारले पर्यटकीय सहर पोखराको सार्वजनिक यातायात प्रणालीमा पनि आमूल परिवर्तन ल्याउने योजना सार्वजनिक गरेको छ । पोखराका परम्परागत इन्धनबाट चल्ने सार्वजनिक सवारी साधनहरूलाई विस्थापित गर्दै पूर्ण रूपमा विद्युतीय बस सेवा सञ्चालन गर्ने व्यवस्था बजेटमा गरिएको छ ।


