सरकारले बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जा (Non-Performing Loans) तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कम्पनीलाई विशेष कानूनी अधिकारसहित स्थापना गरिने जानकारी दिएका हुन्।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा देखिएको जोखिम न्यूनीकरण गर्न र वित्तीय स्थायित्व कायम गर्न यो कदम चालिएको स्पष्ट पारे। उनका अनुसार आगामी पुस मसान्तभित्र कम्पनी स्थापना प्रक्रिया पूरा गरिने लक्ष्य राखिएको छ।
बजेट वक्तव्यअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै जानुका साथै गैरबैंकिङ सम्पत्ति थुप्रिँदै जानु अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्दै गएको छ। यस अवस्थालाई व्यवस्थित गर्न छुट्टै संस्थागत संयन्त्र आवश्यक भएको निष्कर्षसहित सरकारले ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्ने निर्णय गरेको हो।
अर्थमन्त्री वाग्लेले उक्त कम्पनीलाई खराब कर्जा खरिद, पुनर्संरचना, व्यवस्थापन तथा बिक्री गर्ने अधिकार प्रदान गरिने बताए। यसले बैंकहरूको ब्यालेन्स शीट सुधार गर्न सहयोग पुर्याउने र उनीहरूलाई नयाँ कर्जा प्रवाहका लागि थप सक्षम बनाउने अपेक्षा गरिएको छ।
वित्तीय क्षेत्रका जानकारहरूका अनुसार यस्तो कम्पनीको स्थापना नेपालमा पहिलोपटक हुन लागेको हो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार यस्ता संस्थाले समस्याग्रस्त कर्जा व्यवस्थापन गरी बैंकिङ प्रणालीलाई स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्। विशेषगरी आर्थिक मन्दी वा वित्तीय संकटका समयमा यस्ता संस्थाहरू प्रभावकारी साबित भएका उदाहरणहरू छन्।
नेपालको सन्दर्भमा पछिल्ला वर्षहरूमा कर्जा असुलीमा आएको कठिनाइ, केही क्षेत्रहरूमा लगानीको जोखिम तथा आर्थिक गतिविधिमा आएको सुस्तताले खराब कर्जा बढाउने कारकका रूपमा काम गरेका छन्। यस्तो अवस्थामा ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना हुनु सकारात्मक कदमका रूपमा हेरिएको छ।


