राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा मतदाता नामावलीसम्बन्धी दुईवटा संशोधन विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएको उल्लेख गरिएको छ । प्रमाणीकरणसँगै ती विधेयकहरू कानूनी रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । यसअघि उक्त विधेयकहरू संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका थिए ।


