नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त अभिव्यक्तिलाई नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डतासम्बन्धी स्थापित अडानविपरीत रहेको भन्दै कडा आपत्ति प्रकट गरेको हो।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ ऐतिहासिक तथ्य, प्रमाण तथा नेपालको दीर्घकालीन कूटनीतिक अडानसँग मेल नखाने उल्लेख गरिएको छ। विज्ञप्तिमा उक्त अभिव्यक्तिले नेपालको कूटनीतिक दाबी कमजोर बनाउनुका साथै राष्ट्रिय एकतामा असर पार्ने जोखिम रहेको दाबी गरिएको छ।
एमालेले भूमि, सीमा र राष्ट्रिय स्वाधीनता सबै नेपाली जनताको साझा सरोकार भएको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा जिम्मेवार, तथ्यपरक र सन्तुलित अभिव्यक्ति आवश्यक हुने बताएको छ। पार्टीले सरकार प्रमुखबाट आएका भनाइहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको स्थिति कमजोर हुन सक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा सन् २०७७ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको स्मरण गरिएको छ। उक्त नक्सा ऐतिहासिक तथ्य, नाप–नक्सा, सन्धि–सम्झौता, जलविज्ञान तथा आधिकारिक दस्तावेजहरूको विस्तृत अध्ययनका आधारमा तयार गरिएको एमालेको दाबी छ। सो नक्सालाई संघीय संसदले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको विषय पनि विज्ञप्तिमा उल्लेख छ।
एमालेले सन् १८१६ को सुगौली सन्धिलाई आधार मान्दै काली नदीको वास्तविक मुहान लिम्पियाधुरा भएको ऐतिहासिक प्रमाण रहेको तर्क गरेको छ। साथै, कालापानी क्षेत्र सन् १९६१–६२ को भारत–चीन युद्धपछि मात्र भारतीय सुरक्षा फौजको नियन्त्रणमा गएको र त्यसपछि त्यहाँ अतिक्रमण विस्तार भएको दाबी पनि गरिएको छ।
नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तासहित विभिन्न स्थानमा सीमा विवाद रहेको स्वीकार गर्दै एमालेले ती विषयहरूको समाधान ऐतिहासिक प्रमाण, तथ्य र कूटनीतिक संवादमार्फत नै गर्नुपर्नेमा जोड दिएको छ।
पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “कूटनीतिक अपरिपक्वता” को संज्ञा दिँदै राष्ट्रिय हित र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकार अझ जिम्मेवार हुनुपर्ने माग गरेको छ। साथै, यस्तो संवेदनशील विषयमा सरकारले स्पष्ट, तथ्यपरक र राष्ट्रिय हितअनुकूल धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।


