सीमा विवादबारे प्रतिनिधिसभामा गरिएको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभा सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीको रूपमा सम्बोधन गरेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ उक्त भनाइ सार्वजनिक भएपछि संसदभित्र र बाहिर तीव्र बहस र असन्तोष देखिएको छ ।
सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रियसभामा विभिन्न दलका सांसदहरूले आकस्मिक समयमा धारणा राखेका थिए । उनीहरूले देशको सीमा संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको भनाइले गलत सन्देश गएको भन्दै स्पष्टिकरण माग गरेका थिए ।
आकस्मिक समय सकिएलगत्तै केही सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउन थालेपछि बैठकको कार्यवाही अवरुद्ध भएको थियो । केही सांसदहरूले नाराबाजी गर्दै तत्काल छलफल र सरकारको स्पष्ट धारणा आवश्यक रहेको माग गरेका थिए । स्थिति नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बैठकलाई २० मिनेटका लागि स्थगित गरेका थिए ।
सांसदहरूले सीमा विवादजस्तो संवेदनशील विषयमा संसदमा आउने अभिव्यक्तिहरूले राष्ट्रिय हितमा प्रतिकूल असर पार्न सक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूको भनाइमा यस्ता विषयमा बोल्दा तथ्यगत आधार, कूटनीतिक सन्तुलन र राष्ट्रिय संवेदनशीलताको ख्याल गर्नुपर्ने आवश्यकता छ ।
राष्ट्रियसभामा देखिएको अवरोधका कारण बैठकको नियमित कार्यसूची प्रभावित भएको छ । आजको बैठकमा विभिन्न विधेयक तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको भए पनि विवादका कारण कार्यवाही अघि बढ्न सकेन ।
सांसदहरूबीचको चर्को बहसपछि संसदीय वातावरण केही तनावपूर्ण बनेको थियो । बैठक स्थगनपछि दलका नेताहरूबीच अनौपचारिक छलफलसमेत भए पनि कुनै निकास निस्कन सकेन ।
शाहलाई पदबाट राजीनामा गर्न र माफी माग्नुपर्ने अडान नेपाली काँग्रेस, नेकपा एमाले, नेकपालगायतले राखेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो । सभाका अध्यक्ष नारायण दाहालले दलहरुसँग रहमतिका लागि प्रयास गरे पनि सफल हुन नसकेपछि बैठक स्थगित भएको हो ।


