नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । प्राधिकरणको अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको थियो । सोहीअनुसार इच्छुक नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आजसम्म आवेदन पेश गर्नुपर्नेछ ।
प्राधिकरणको अध्यक्षका लागि बीमा, मौद्रिक, बैकिङ वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
त्यस्तै, उच्च नैतिक चरित्र भएको, ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, भ्रष्टाचार, सम्पत्ती शुद्धीकरण, मानव बेचबिखनजस्ता कसूर नरहेका, कालोसूचीमा नपरेका वा फुकुवा भएको तीन वर्ष पूरा भएको जस्ता योग्यता जरुरत पर्दछ ।
अर्थ मन्त्रालयका अनुसार सोमबारसम्ममा करिब दुई दर्जनले आवेदन दिएको बुझिएको छ । आवेदन दिनेहरुमा उच्च तहका बिमा अधिकारी, बिमा विज्ञ, पूर्वप्रशासक तथा नियामक निकायका पूर्वउच्च अधिकारीहरू छन् ।
अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र प्रा.डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका छन् । समितिले प्राप्त आवेदनहरूको प्रारम्भिक सर्टलिस्ट तयार पारेर पाँच जनासँग कार्यक्षमता परीक्षण तथा प्रस्तुति लिनेछ । त्यसपछि उत्कृष्ट तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरिनेछ । अन्तिम चरणमा सरकारले तीमध्ये एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ ।


