Banijya News

हिमालयन रि–इन्स्योरेन्स प्रकरणः बीमा कम्पनीहरुबाट चार अर्ब अपचलन

1
1.0K Shares

हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुबाट ४ अर्ब भन्दा बढी रकम अपचलन भएको देखिएको छ । प्रहरीले हिमालयन रि–इन्स्योरेन्स सम्बन्धमा गरेको अनुसन्धानका क्रममा विभिन्न पाँच बीमा कम्पनीहरुबाट यति ठूलो रकम अपचलन भएको निष्कर्ष निकालेको हो । साथै, बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको समेत अनुसन्धानले खुलाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल समेतका प्रतिवादीहरूमाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीले जनाएको छ ।

प्रहरीले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाल र मनीष कुमार तथा सीईओ उपासना पौडेललाई प्रतिवादी बनाएर अभियोग दायर गर्न सीआईबीले सुझाव दिएको छ । अर्का व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सीआईबीको ठहर छ ।

त्यसो त, अधिकांशले आफूहरुलाई यस विषयमा अनुसन्धानमा मात्रै जानकारी पाएको जिकिर गरेका छन् । सीआईबीको प्रतिवेदनमा ४० जनाभन्दा धेरै व्यक्तिहरूलाई प्रतिबादी बनाउनुपर्ने उल्लेख छ । उनीहरूविरुद्ध बीमा सम्बन्धी कसुरमा पाँच वर्ष कैद सजाय गर्न मागदाबी लिनुपर्ने प्रहरीको सुझाव छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

आरोपीहरूले हिमालयन रिसँग सम्बन्धित बीमा कम्पनीहरूबाट करिब ४ अर्ब रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बीमक (बीमा गर्ने व्यक्ति) हरूले तिरेको रकम अनुमति बिना निकालेर अन्यत्र लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको उक्त प्रतिवेदनमा देखिएको छ ।

हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा कम्पनीमार्फत ४ अर्ब रकम अपचलन गरेको भेटिएको छ । हिमालयन रि, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्याप सर्व, हिमालयन सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्डको रकम अपचलनमा मुख्य भूमिका देखिएको छ । त्यसबेला हिमालन रिको अध्यक्ष शेखर गोल्छा थिए ।

अनुसन्धाननमा संलग्न एक अधिकृतका अनुसार हिमालयन रि र यसका सहायक कम्पनीहरूको रकम अनियमितता गर्न सबै प्रक्रिया मिलाउने भूमिकामा दीपक भट्ट रहेको देखिएको छ । सीआईबीले बैंकिङ कसुर र धितोपत्रसम्बन्धी दुई वटा छुट्टाछुट्टै कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

1

Scroll to Top