Banijya News

सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ व्यवसायी भट्ट र अग्रवालको मुद्दा अन्तिम चरणतिर

1
1.0K Shares

 

सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिलका अध्यक्ष शुलभ अग्रवालको मुद्दा अन्तिम चरणतिर पुगेको छ। तर अनुसन्धान लम्बिँदै जाँदा विशेषगरी शुलभको स्वास्थ्य अवस्थाले नयाँ चिन्ता थपेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत १८ गते ललितपुरबाट दीपक भट्टलाई पक्राउ गरेपछि यो प्रकरण सार्वजनिक रूपमा चर्चामा आएको हो। त्यसको भोलिपल्ट शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिए पनि उनलाई बयानपछि हाजिरी जमानीमा रिहा गरिएको थियो। तर त्यसको एक दिनपछि, चैत २१ गते, उनका छोरा शुलभ अग्रवाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

हालसम्म आइपुग्दा भट्ट र शुलभ दुवै करिब दुई महिनादेखि प्रहरी हिरासतमा छन्। सम्पत्ति शुद्धीकरण विभागसँग आफ्नै थुनुवा कक्ष नभएकाले उनीहरूलाई विभिन्न प्रहरी इकाइमा राखिएको छ। दीपक भट्टलाई सुरुमा पुल्चोक, त्यसपछि सानेपा हुँदै अहिले प्रहरी वृत्त बौद्धमा राखिएको छ भने शुलभलाई भने सुरु देखिनै जिल्ला प्रहरी परिसर ललितपुरमै राखिएको छ।

यसबीच उनीहरूलाई राखिएको हिरासतको अवस्थाबारे प्रधानमन्त्री कार्यालय र विभागीय टोलीले आकस्मिक अनुगमनसमेत गरेका छन्। अन्य थुनुवाभन्दा फरक सुविधा दिएको आशंका उठेपछि छानबिन अघि बढाइएको बताइएको छ।

यो प्रकरणको जरो हिमालयन बैंकबाट जगदम्बा स्टिलका नाममा लिइएको ऋणसँग जोडिएको छ। अनुसन्धानका क्रममा करिब ४३ करोड रुपैयाँ दीपक भट्टको खातामा पुगेको देखिएपछि शंकर ग्रुप पनि अनुसन्धानको घेरामा आएको हो। साथै, हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर कारोबारसम्बन्धी विषयमा पनि छानबिन जारी छ।

तर अनुसन्धानको क्रममा सबैभन्दा चासोको विषय शुलभ अग्रवालको स्वास्थ्य बनेको छ। लामो समय हिरासतमा रहनुपरेपछि उनको मानसिक र शारीरिक स्वास्थ्यमा समस्या देखिन थालेको स्रोतहरू बताउँछन्। उनलाई पटक–पटक पाटन अस्पतालमा भर्ना गरिएको छ। हालै उनी एक साताभन्दा बढी समय मानसिक वार्डमा उपचारपछि डिस्चार्ज भएका थिए। तर डिस्चार्ज भएको २४ घण्टा नपुग्दै पुनः स्वास्थ्य बिग्रिएपछि फेरि अस्पताल लगिएको थियो। केही समय उपचारपछि पुनः हिरासतमा फर्काइएको छ।

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक निर्मल ढकालका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ र चाँडै निष्कर्ष आउने अपेक्षा गरिएको छ। यद्यपि, स्वास्थ्यसम्बन्धी विषय अनुसन्धानकै हिस्सा भएकाले धेरै टिप्पणी नगर्ने उनको भनाइ छ।

शुलभ अग्रवाल यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्। कोभिड–१९ महामारीका बेला थर्मल गनको कालोबजारी गरेको आरोपमा उनी पक्राउ परेका थिए र करिब २४ दिन हिरासतमा बसेका थिए। सस्तो मूल्यमा ल्याइएका उपकरण महँगोमा बिक्री गरेको आरोप त्यतिबेला पुष्टि भएको थियो।

1

Scroll to Top