भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि उनले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उलने साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज तथा निर्बाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताएका छन् ।
सभापति लामिछानेले नेपाल र भारतबीचको साझेदारीलाई प्रगति र पारस्परिक विश्वासमा आधारित बनाउने सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ती सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको पनि बताएका थिए ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतको सहभागिता रहेको थियो । सो क्रममा नेपाल–भारत सम्बन्धलाई विगतका सीमितताहरूभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टिबारे विस्तृत छलफल भएको रास्वपाले जनाएको छ ।


