नेपालबाट भारततर्फ हुने चिया निर्यातमा भारतले फेरि गैरभन्सार अवरोध गरेको छ । अहिले फेरि मेची भन्सार नाका हुँदै निकासी हुने चिया एक सातादेखि ठप्प भएको छ । भन्सार नाकाबाट चिया निकासी हुन नसकेपछि चिया उद्योगीहरूमा पुनः चिन्ता बढेको छ ।
यसअघि वैशाक १८ गते भारतीय चिया बोर्डले प्रत्येक गाडीमा रहेको चियाको नमुुना अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ प्रावधान ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गरेपछि नेपालमा उत्पादित चिया निर्यात ठप्प भएको थियो । भारतले मे १ देखि यस्तो प्रावधान लागू गरेपछि तयारी चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा रोकिएका थिए । त्यस बेला तीन साता चिया निकासी ठप्प भएको थियो ।
तीन साताको निकासी अवरोधपछि भारतीय चिया बोर्डले भारतमा आन्तरिक बिक्रीका लागि आयात गरिने चियाका कन्साइनमेन्टहरूमा ‘र्यान्डम’ मात्र परीक्षण हुने र नेपालबाट भारतमा उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छे परीक्षण नगरी र्यान्डम स्याम्पलिङ मात्र हुने व्यवस्था गरेपछि अवरुद्ध निकासी पुनः सुरू भएको थियो । मेची भन्सारका अनुसार २१ दिनपछि निकासी खुले पनि विगत एक सातादेखि कुनै पनि व्यवसायीले चिया निकासीका लागि फाराम पेस गरेका छैनन् ।
भारतीय चिया बोर्डको पछिल्लो प्रावधानपछि केही ट्रक चिया भारत निकासी भयो । तर, भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा हरेक बोराबाट नमुना निकालेर प्रयोगशाला लैजाने र परीक्षणको रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश दिएको छ । यसले गर्दा पछिल्लो एक सातादेखि चिया निकासी रोकिएको सम्बद्ध व्यवसायीहरुको भनाइ छ ।
भारतीय चिया बोर्डले नेपालबाट जाने चियाको नयाँ ‘एसओपी’ अनुसार अनिवार्य प्रयोगशाला परीक्षणबाट पछि हटेर पुरानै प्रावधानबाट परीक्षण गर्ने लिखित पत्र पठाएपछि निकासी सुचारु भएको थियो । तर, अहिले फेरि शतप्रतिशत परीक्षणको प्रावधान राखेपछि निकासी प्रभावित भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
अहिले भारतको पानीट्यांकी भन्सार र चिया बोर्डमा समस्या छैन । तर, यहाँबाट बाहिरिएको नेपाली चिया आयातकर्ताको गोदाममा पुग्नेबित्तिकै हरेक बोराको गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्ने र रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश जारी गरेपछि व्यवसायीले निकासी नै बन्द गरेको बताइएको छ ।
अहिले नेपाली चिया बोकेर भारतको कोलकाता पुगेका आधा दर्जनभन्दा बढी गाडीबाट नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको एक साता बित्दा पनि रिपोर्ट आएको छैन । रिपोर्ट नआएसम्म गोदामबाट बाहिर ननिकाल्न आदेश दिइएको छ । यसले गर्दा एक सातादेखि पुनः चिया निकासी ठप्प भएको हो ।
यसअघि भारतीय चिया बोर्डले भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टी काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनुपर्ने र त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउने व्यवस्था गरेपछि नेपाली चिया किसान र व्यवसायी मारमा परेका थिए ।
भारतले यसअघि लागू गरेको कडा परीक्षण नियमअनुसार प्रत्येक ट्रकमा ११ हजार १२० भारतीय रुपैयाँ शुल्क तिरेर नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन करिब दुई साता कुर्नुपर्ने व्यवस्था थियो । प्रयोगशालाको रिपोर्ट नआउन्जेल चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्ने र त्यस अवधिभर चिया बेच्न र पुनः निर्यात गर्न नपाइने व्यवस्था भारतीय चिया बोर्डले गरेको थियो । यही प्रावधानका कारण चिया निर्यात रोकिएको थियो ।
भारतले पछिल्लो समय विभिन्न प्राविधिक र प्रशासनिक बहानामा नेपाली चियामा गैरभन्सार अवरोध सिर्जना गरिरहेको चिया व्यवसायीहरुको भनाइ छ । यस्तो अवरोधले चिया उत्पादक किसान, उद्योगी र निर्यातकर्ताहरु निरुत्साहित बनेका छन् । नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा समेत चिया निर्यात हुने भएकाले यस्तो अवरोधले समग्र निर्यात प्रणालीमै असर पर्ने उद्योगीहरूको भनाइ छ ।
नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलो चिया उत्पादन हुने सरकारी तथ्यांक छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चिया नेपालको प्रमुख निर्यात वस्तुमध्ये एक हो । हरेक वर्ष सरदर साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा चियाबाट नै भित्रिने गर्दछ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट भारततर्फ करिब ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । नेपालमा उत्पादन हुने सिटिसी चियाको ५० प्रतिशत बढी हिस्सा र अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारत निर्यात हुने गर्दछ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । अहिले फेरि चिया निर्यातमा गैरभन्सार अवरोध भएसँगै चिया व्यापार पुनः ठप्प भएको छ । यसको निराकरणमा सरकारको ध्यान जान जरुरी छ ।


